काठमाडौँ- सरकारले एमसीसीअन्तर्गतको एमसीए नेपाललाई ४३ हेक्टर वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ। वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा असार २ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय भएको हो।
मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए) लाई ४०० के. भी. डवलसर्किट विद्युत प्रसारण लाईन आयोजना निर्माणको लागि उक्त वन क्षेत्र दिन लागिएको हो।
यो वन क्षेत्र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको सुनवल नगरपालिका, रामग्राम नगरपालिका र बर्दघाट नगरपालिकामा पर्ने पनि सरकारले जानकारी दिएको छ।
अमेरिककाको एमसीसीको आर्थिक सहयोग रहने भनिएको कार्यक्रम एमसीएमा अब कुनै पनि आर्थिक सहयोग प्रदान नगरिने अमेरिकी सरकारले जानकारी दिएको छ। अमेरिकी सहयोग रोकिएसँगै यो कार्यक्रम के हुने भन्ने अन्योल सिर्जना भएको थियो। यद्यपि अर्थ मन्त्रालयले यो कार्यक्रमको स्वामित्व ग्रहण गरी बाँकी काम अघि बढाउनुपर्ने माग भइरहेका वेला क्याबिनेटले वन क्षेत्र उपयोग गर्न दिने निर्णय गरेको हो।
मन्त्रिपरिषद्ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण स्वीकृतसहति १९ निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जानकरी दिएको छ।


