काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) आफैँले गरेका केही निर्णयहरूबाट पछि हटेका छन्। समितिका संयोजक हेरफेरसम्बन्धी आफैँले गरेको निर्णय बालेनले फिर्ता लिएका हुन्।
साहले सूचना प्रविधि समिति संयोजकबाट नवीन मानन्धरलाई हटाएर काठमाडौँ–५ का वडाध्यक्ष वीरेन्द्र प्रजापतिलाई लगेका थिए।
सुशासन समिति संयोजकबाट काठमाडौँ–२६ का वडाध्यक्ष ख्यामराज तिवारीलाई हटाएर वडा–३० का अध्यक्ष दलबहादुर कार्कीलाई बनाए। सम्पदा तथा पर्यटन समिति संयोजक आशाराम संगतलाई हटाएर वडा–२४ का अध्यक्ष विनोदकुमार राजभण्डारीलाई जिम्मेवारी दिएका थिए। तर यो निर्णयमा उनी टिक्न सकेनन्।
वडाध्यक्षहरू नवीन मानन्धर, ख्यामराज तिवारी, आशाराम संगत र मचाराजा महर्जनले उक्त निर्णयको विरोध गरेपछि बालेनलाई आफ्नै निर्णय भारी पर्यो। उनीहरूले कार्यपालिकाको औपचारिक निर्णयबिना यस्ता जिम्मेवारी तोक्नु एकलौटी भएको भन्दै मेयरलाई सचेत गराएका थिए।
नयाँ जिम्मेवारी तोकिएका वडाध्यक्षहरू प्रजापति, कार्की र राजभण्डारीले संयुक्त हस्ताक्षरसहित मेयरलाई पत्र पठाउँदै कार्यपालिकाको अनुमोदन नलिएको भन्दै पद अस्वीकार गरेका थिए। सो पत्रपछि मेयर बालेनले उनीहरूलाई पुरानै जिम्मेवारीमा फर्काउने निर्णय गरेका हुन्।
यसैबीच, विधायन समितिको संयोजक वडा नम्बर १६ की अध्यक्ष रोजिना श्रेष्ठलाई दिइएको छ।


