काठमाडौ: प्रतिष्ठित उद्यमी तथा साहित्यकार बसन्त चौधरीको पहिलो उपन्यास ‘देवयानी’ सार्वजनिक भएको छ।
ललितपुरको पुल्चोकमा आयोजित एक समारोहमा बुधबार कृतिको सार्वजनिकीकरण भएको हो। कार्यक्रममा लेखक तथा साहित्यकारहरु उमा सुवेदी, अमर न्यौपाने, वविता बस्नेत, विश्वविमोहन श्रेष्ठ र कुमारी लामाका देवयानी पठन अनुभव प्रस्तुत गरिएको थियो। उनीहरुले उपन्यासको चरित्र, विशेषता र विषयवस्तुबारे आफ्ना पठन अनुभव डिजिटल माध्यम मार्फत् राखेका थिए।
कार्यक्रममा चर्चित रंगमञ्चकर्मी दिव्यदेवले उपन्यासकार चौधरीसँग साक्षात्कार गरेका थिए। साक्षात्कारमा प्रश्नको जवाफ दिँदै चौधरीले पाँच दशक लामो लेखनीमा पहिलो उपन्यास दुई वर्ष लगाएर लेखेको रहस्य खोले। उनले छोटा कथाहरु लेखेको अनुभवले उपन्यासको कथाको प्लट तयार पार्न सजिलो भएको बताए।
उनले आफुले अहिलेसम्म इमान्दार भएर कलम चलाएको बताए ।
लेखनीको मूख्य विषय प्रेम नै किन भन्ने प्रश्नमा उपन्यासकार चौधरीले भने- ‘अनादीकालदेखि अहिलेसम्म स्थीर केही छ भने त्यो प्रेम हो। यसैले मैले प्रेमलाई सिर्जनामा रुपान्तरित गरेको हुँ । उपन्यासको कथा बारे सोधिएको प्रश्नमा चौधरीले हरेक लेखकले आफ्नो वरिपरि नियाली रहेको हुन्छ देखेका,सुनेका र आफ्ना भोगाइहरुको समिश्रणबाट कृति तयार हुन्छ । तर यो चाहिं फिक्सन मात्र हो।’
चौधरीको ‘देवयानी’लाई साङ्ग्रिला प्रकाशनले बजारमा ल्याएको हो। यसअघि चौधरीका कविता, गीत, गजल, निबन्ध गरेर २२ कृति प्रकाशित छन्। ‘देवयानी’ २३ औं कृति हो।
