काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भन्सार राजस्व जाँच पास गरेर बाहिरिएको ६१ किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अभियुक्त अमला रोकालाई पक्राउ गरेको छ।
सीआइबी टोलीले काठमाडौँबाट रोकालाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिएका हुन्।
‘रोका ६१ किलो सुन तस्करी प्रकरणमा जोडिएकी थिइन्। आज हाम्रो टोलीले पक्राउ गरेको छ,’ उनले भने।
राजस्व अनुसन्धान विभागले २०८० साउन २ गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भन्सार राजस्व जाँच पास गरेर बाहिरिएको ६१ किलो सुन बरामद गरेको थियो।
पक्राउ परेकी रोका उक्त ६१ किलो सुनकाण्डमा मुछिएका बेल्जियम नागरिक दाबा छिरिङकी श्रीमती भएको र काठमाडौँको ठमेलस्थित होटल भियना उनको नाममा दर्ता भएको बताइएको छ।
दावा २०८० साउन १४ गते पक्राउ परेका थिए। उनीसँग नेपाली नागरिकता र पासपोर्ट पनि छ। नेपाली नागरिकताअनुसार उनी काभ्रेवासी हुन्। दावाले श्रीमती अमलामार्फत माओवादी नेताहरूसँग कनेक्सन बनाएर सुन तस्करीलगायतका आपधारिधक क्रियाकलाप गरेको आरोप छ।


