काठमाडौँ- प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले काठमाडौँमा लागुऔषध कारोबारीको बिगबिगी रहेको बताएका छन्। तालुकमन्त्री रमेश लेखकके सामुन्ने उनले लागुऔषध कारोबारीको बिगबिगी रहेको बताएका हुन्।
बिहीबार काठमाडौँमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
‘काठमाडौँ उपत्यकामा लागुऔषधको बिगबिगी बढिरहेको छ। अहिले काठमाडौँ उपत्यका प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाभर हामीले लागुऔषध रोकथाम र नियन्त्रणको अभियानलाई सशक्त ढङ्गले अघि बढाइरहेका छौँ,’ आईजीपी थापाले भने, ‘हामीले सबै पालिका, सबै तह तप्का र विद्यालय तहमा हामीले लागुऔषध विरुद्धको अभियानमा सचेतनामूलक कार्यक्रम लिएर जाँदैछौँ । सबैको ऐक्यबद्धता भए लागुऔषध दुर्व्यसनी हामी नियन्त्रण गर्न सक्छौँ ।’
नेपाल प्रहरीले काठमाडौँ उपत्यका प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाभर लागुऔषध रोकथाम र नियन्त्रणको अभियानलाई सशक्त ढङ्गले अघि बढाएको उनको जिकिर थियो।
सबै पालिका, सबै तह तप्का र विद्यालय तहमा लागुऔषध विरुद्धको अभियानमा सचेतनामूलक कार्यक्रम लिएर अघि बढिरहेको बताए।
नेपाल प्रहरीले चालु आर्थिक वर्षको जेठ महिनासम्ममा अघिल्लो आवमा भन्दा गाँजा ६५ प्रतिशत, अफिम ७७ प्रतिशत, हिरोइन ७९, अन्य औषधिजन्य लागुपदार्थ ५३ प्रतिशतले बरामद गरेको जानकारी दिए।
आईजीपी थापाको उक्त भनाइ सुनेका गृहमन्त्री लेखकले लागुऔषध नियन्त्रणका लागि आगामी आर्थिक वर्षमा लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने घोषणा गरे। गृह मन्त्रालयअन्तर्गत छुट्टै विभागको स्थापना गर्ने जानकारी दिए।
देशभरमा कारागारमा रहेका कैदीबन्दीमध्ये दोस्रो सबैभन्दा ठुलो संख्यामा लागुऔषधको दुर्व्यसनी, भण्डारण, ओसारपसार गर्नेहरू रहेको बताए।
गृहमन्त्री लेखकले मन्त्रालयमा आफू आइसकेपछि लागुऔषध नियन्त्रणमा धेरै चासो दिएर काम गरिरहेको बताए। लागुऔषध आफैँमा एउटा समस्या रहेको र यसले समाजमा अरू समस्या पनि सिर्जना गरिरहेको उनले बताए।


