काठमाडौँ- प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सैनिक विषेश अदालतको निरीक्षण गरेका छन्।
सर्वोच्च अदालतबाट न्यायिक निकायहरुको नियमित निरीक्षणको सिलसिलामा राउत बिहीवार सैनिक विशेष अदालतको निरीक्षण भ्रमण गरेका हुन्।
प्रधानन्यायाधीश राउत नेतृत्वको निरीक्षण भ्रमण टोलीलाई जंगी अड्डामा प्रधानसेनापति अशोकराज सिग्देलले स्वागत गरेका थिए।
टोलीले निरीक्षण भ्रमणका क्रममा जङ्गी अड्डामा अवस्थित सैनिक विशेष अदालतबाट हुने गतिविधिका सम्बन्धमा जानकारी लिएको थियो।
प्रधानन्यायधीश राउतले सैनिक न्याय प्रणालीसँग सम्बन्धित अधिकारीहरुलाई विशेष निर्देशनसमेत दिएको बताइएको छ।
भ्रमण कार्यक्रममा उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर, सैनिक विशेष अदालतका अध्यक्ष लेखनाथ पौडेल, सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेललगायतका पदाधिकारीहरु, रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो।


