काठमाडौँ- प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक पारित भएको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा छलफलपछि विधेयक पारित गरिएको हो।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए। यसपछि सभामुख देवराज घिमिरेले विधेयक बहुमतले पारित भएको घोषणा गरेका हुन्।
सभामुख घिमिरेले भने,‘संघीय निजामती सेवा विधेयक, २०८२ आज प्रतिनिधि सभाबाट पारित भएको छ। संघीयताको सफल कार्यान्वयनका लागि आवश्यक कानुनी पूर्वाधारमध्ये यो विधेयक एक ऐतिहासिक र दूरगामी प्रभाव पार्ने नीतिगत प्रस्थानविन्दुको रूपमा लिएको छु।’
विधेयक पारित हुनुअघि सांसद प्रभु शाहले विधेयकप्रति आपत्ति जनाउँदै रोष्ट्रममै च्यातिदिएका थिए।
आइतबार प्रतिनिधिसभाको बैठकमा विधेयकमाथि छलफलमा भाग लिँदै विधेयक स्वीकार गर्न नसक्ने बताउँदै रोस्टममै विधेयक च्यातेका हुन्।
‘गरिबलाई रूवाउने विधेयक हामीलाई स्वीकार्य छैन। यो नेपाली जनताले कुनै पनि हालतमा स्वीकार्ने छैन। यस्तो अपराधिक कामको साक्षी म बन्न सक्दिनँ। सांसदहरूले पनि नबन्न आग्रह गर्दछु,’ उनले भने, ‘यस्तो चिरहरण, भविष्यमाथि कत्लेआम गर्ने साक्षी हुन नसक्ने व्यहोरा अनुरोध गर्दै आजको यो बैठक बहिष्कार गर्दै यसलाई स्वीकार गर्न सकिन, म च्यात्छु।’
उक्त विधेयक गरिबमारा रहेको कारण स्वीकार्य नरहेको र आफूले बैठक पनि बहिष्कार गरेको बताए।
यस्तै उनले निजामती विधेयक पारित भएमा देशमा आगो बल्ने पनि बताएका थिए। उनले भने, ‘यो गरिबमारा निजामती विधेयक पारित भयो भने देशमा आगो बल्छ। गरिबको भविष्यलाई कत्लेआम गर्नेगरी आएको यो विधेयक हामीलाई स्वीकार्य छैन। यदि यो आज पारित भयो भने यो कालो दिन हुनेछ।’
उनको चर्को विरोध भएपनि विधेयकमा कुनै संशोधन भएन।


