काठमाडौँ- प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदको सवाल–जवाफ भएको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद डिपी अर्याल र कांग्रेस सांसद रामहरि खतिवडाबीच सवालजवाफ भएको हो।
रास्वपा सांसद अर्यालले सम्बोधनका क्रममा ‘चोर’ शब्द प्रयोग गरेका थिए। लगत्तै कांग्रेस सांसदले खतिवडाले उनलाई जवाफ फर्काएका थिए।
सांसद अर्यालले काम गरेर खाने (आफू)हरूले चोरेर खाने (कांग्रेस सांसद?)हरूलाई जवाफ दिनुपर्ने भन्दै प्रश्न उठाएका थिए।
‘यहाँ काम गरेर खानेहरूले चोरेर खानेहरूलाई जवाफ दिँदै हिँड्नुपर्ने छ,’ सांसद अर्यालले भनेका थिए, ‘हामी कस्तो समाज निर्माण गर्दैछौँ सभामुख महोदय?’
राजनीतिलाई पेसा बनाएर वषौंदेखि देशलाई दोहन गरिरहनेहरूले आफूले पेसाव्यवसाय गरी कमाउँदा भिजिट भिसाका नाममा ठगी गरेको आरोप खेप्नुपरेको उनको गुनासो थियो।
कांग्रेस सांसद खतिवडाले आफूहरूले कुनै सांसदको नाम किटान नगरेर भनेको भन्दै ‘चोरको खुट्टा काट्’भन्दा खुट्टा झिके जस्तो गरेर अर्याल प्रस्तुत भएको आरोप लगाए। कुनै पनि संस्थामाथि छानबिन गर्नुपर्छ भन्दा किन ठुलो स्वरले कराएको भन्दै अर्याललाई उनले प्रतिप्रश्न गरेका थिए।
शनिबार प्रतिनिधि सभाको बैठकमा खतिवडाले सुमिरे टूर एन्ड ट्राभल्सले विगत १० वर्षदेखि जापानमा नेपालीहरूलाई पठाउँदा भिजिट भिसामा पठाएर ठगी गरेको हुन सक्ने आरोप लगाएका थिए।
भिजिट भिसाका नाममा हजारौं मान्छे पठाएर अर्बौं पैसा लिएर संसदमा प्रतिनिधित्व गर्ने र सांसद पद किनेर पार्टीमा प्रतिनिधित्व गरेर भिजिट भिसामा बदमासी गर्ने काम भएको आरोप उनको थियो।
रास्वपा उपसभापतिसमेत रहेका सांसद अर्यालले खतिवडालाई जवाफ फर्काउँदै चोरको आरोप लगाए। सुमिरे टूर एन्ड ट्राभल्स आफ्नो रहेको र कुनै बदमासी गरेको भए प्रमाण पेस गर्न चुनौती दिए।


