काठमाडौँ– भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गरेर लामो समयदेखि निरन्तर संसद अवरोध गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्व सोही विवादमा तानिएको छ।
सहकारीको रकम अपचलनसम्बन्धी प्रकरणमा सभापति रवि लामिछाने जेल परेपछि कार्यवाहक तोकिएका डोलप्रसाद अर्यालको कम्पनीले एक दशकदेखि सर्वसाधारणलाई भिजिट भिसामा जापान, थाइल्याण्ड र दुबई पठाएको आवाज उठेको हो। भिजिट भिसा प्रकरणको सुइ स्वयम् आफूतिर तेर्सिएपछि रास्वपामाथि नैतिकताको प्रश्न उठेको हो।
त्यसो त कार्यवाहक सभापति अर्यालविरुद्ध भिजिट भिसा दुरुपयोग र मानव तस्करी विषयमा छानबिनको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी समेत दर्ता भएको छ।
अभियन्ता युवराज सफलले अर्याल विरुद्ध उजुरी दर्ता गरेका हुन्। सफलले प्रतिनिधिसभाको गत असार १५ गतेको बैठकमा सांसद अर्यालले आफू सुमिरे टुर्स एण्ड ट्राभल्स प्रा.ली. को सञ्चालक रहेको र वर्षौँदेखि जापानमा भिजिट भिसामा नेपाली नागरिक पठाउँदै आएको स्विकार गरे लगत्तै कार्यवाहक सभापति अर्यालविरुद्ध उनले उजुरी दर्ता गरेका हुन्।
कार्यवाहक सभापति अर्यालले सदनमा जवाफ दिँदै बोलेका तथ्यलाई आधार बनाएर सफलले उनको कम्पनीमार्फत विदेश पठाइएका नागरिकहरूको प्रक्रिया, कागजात र वैधानिकता विषयमा गहिरो छानबिन आवश्यक रहेको बताएका छन्।
‘भिजिट भिसाको नाममा ‘सेटिङ’ गरेर त्रिभुवन विमानस्थल हुँदै नागरिक विदेश पठाइएको प्रमाणहरू सार्वजनिक भइसकेका छन्। यस्तोमा अर्यालको कम्पनीले कागजात पूरा गरेर नागरिक पठाएको स्विकार्न सकिन्न।’उक्त उजुरीमा डिपी अर्यालसहित कम्पनीका अन्य सञ्चालकलाई कानुनी दायरामा ल्याई दोषी ठहरिए हदसम्मको कारबाही गर्न माग गरिएको छ। उनले दर्ता गराएको निवेदनमा भनिएको छ।
प्रतिनिधिसभाको गतसनिबारको बैठकमा नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले सांसद अर्यालको ट्राभल्स एजेन्सीको नामै उल्लेख गरेर भिजिट भीसा प्रकरणको आरोप लगाएका थिए। भिजिट भिसामा हजारौंलाई विदेश पठाएर अर्बौं कुम्ल्याएको बताउँदै खतिवडाले छानबिनका लागि सरकारसँग माग समेत गरेका थिए।
भन्छन्,‘सुमिरे टुर्स एण्ड ट्राभल्स भन्ने कसको ट्राभल्स हो? विगत १० वर्षदेखि जापानमा भिजिट भिसाको नाममा हजारौं मान्छे पठाएर अर्बौं पैसा लिई संसदमा प्रतिनिधित्व गर्ने र सांसद किनेर पार्टीबाट प्रतिनिधित्व गरेर भिजिट भीसामा बदमासी गर्ने काम भएको छ ।’ त्यसैगरी,भिजिट भीसाको धन्दा चलाउनेहरु संसदमा उफ्रिरहेको बताएका थिए।
‘तिनै मान्छेहरु यदाकदा संसदमा आएर उफ्रिने काम पनि भएको सुन्नमा आएको छ। यसमा निष्पक्ष छानबिन गरी कारबाहीको दायरा अघि बढाइयोस् भन्ने माग गर्न चाहन्छु।’ सांसद खतिवडाको भनाइ थियो।
त्यसो त सांसद खतिवडाले अवैध काम गरेर आर्जन गरेको सम्पत्तिले पार्टी कब्जा गरी सांसद बनेकाले अरुलाई कारबाही गर भन्दै कराउनु ठीक नभएको बताउँदै आएका छन्।
सांसद खतिवडाले गतसनिबारको प्रतिनिधिसभाको बैठकमा रास्वपाका कावा अर्याललाई अर्यालको ट्राभल्स एजेन्सीको नामै उल्लेख गरेर भिजिट भीसा प्रकरणको आरोप लगाएका थिए। भने आइतबारको प्रतिनिधिसभा बैठकमा अर्याल स्वयमले त्यसबारे स्वीकार गरेका थिए।
‘सुमिरे टुर्स एन्ड ट्राभल्स मेरै कम्पनी हो,म यही देशमा केही गरेर खाने मान्छे हुँ, बदमासी गरेर खाएको छैन’, उनले भनेका थिए, ‘मेरो कम्पनीबाट भिजिट भिसामा जापान मात्र होइन, संसारको अरु देश पनि गएका छन्। हामीले पैसा लिएका छौँ, तर फर्केका छैनन् भने प्रमाण पेश गर्न म चुनौती दिन्छु ।’
सुमिरे टुर्स एण्ड ट्राभल्समा कार्यवाहक सभापति अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीको लगानी रहेको बताइएको छ। बुर्लाकोटी रास्वपाका महामन्त्री हुन्। मुकुल ढकाल निस्कासनमा परेपछि उनलाई उनले कार्यवाहकको जिम्मेवारी सम्हाल्दै आएका छन्।
गृहमन्त्री लेखकमाथि छानबिनको माग गर्दै रास्वपाले विभिन्न स्वरुपमा संसद बैठक अवरुद्ध गर्दै आइरहेको छ। अरुमाथि औंला उठाइरहेका रास्वपा सांसद्ले आफ्नै पार्टीका कार्यवाहक सभापतिमाथि लागेको आरोपको हकमा के गर्छ? त्यो भने हेर्न बाँकी नै छ।


