काठमाडौँ- सात वटै प्रदेशका प्रमुखहरुले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन्। बुधबार बिहान राष्ट्रपति भवन शितल निवासमा सात वटै प्रदेशका प्रदेश प्रमुखहरुले शिष्टाचार भेट गरेका हुन्।
कोशी प्रदेश प्रमुख परशुराम खापुङ्ग, मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी, वागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर, कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले पौडेलसँग भेट गरेका हुन्।
भेटका क्रममा प्रदेश प्रमुखहरुले आफ्नो आफ्नो प्रदेशको अवस्थाबारे जानकारी गराएका थिए। सातै प्रदेशका प्रदेश प्रमुखहरुले आफूले भोग्नुपरेका कठिनाई, कानुन नियममा रहेका अन्यौलहरुको बारेमा राष्ट्रपतिलाई जानकारी गराएका थिए। प्रदेशमा भएका समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइदिन पनि उनीहरूले राष्ट्रपति समक्ष आग्रह गरेका थिए।
प्रदेश प्रमुखहरूका कुरा सुनेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आफूले प्रदेशका समस्याहरूका बारेमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने आश्वासन दिएका थिए।
पछिल्ला आन्दोलनहरूको उपलब्धिलाई संस्थागत गर्ने महत्वपूर्ण आधार प्रदेश भएको उल्लेख गर्दै प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता भएको पनि उनले बताएका थिए। ‘प्रदेशहरू सुदृढ भए यो व्यवस्था नै सुदृढ हुन्छ, संविधानको सम्पूर्ण कार्यान्वयनका लागि आवश्यक पर्ने संघीय, प्रादेशिक र स्थानीय तहका कानुनको तर्जुमा र त्यसको निष्कपट कार्यान्वयनबाटै यो संविधानको औचित्य र सार्थकता प्रमाणित हुन्छ भन्ने मेरो विश्वास छ,’ उनको भनाइ थियो।
प्रदेश प्रमुख प्रदेशको प्रमुख मात्र नभएर केन्द्रको प्रतिनिधि पनि भएकाले संघ र प्रदेशबीचको समन्वयकर्ता र समग्रमा प्रदेश प्रमुखहरू संघीयताको सेतु भएको उनको भनाइ थियो। ‘राष्ट्रपति र प्रदेश प्रमुखहरूबीच निरन्तर सम्पर्क, सम्वाद र समन्वय हुन जरुरी छ,’ राष्ट्रपति पौडेलको भनाइ थियो।
मुख्य कुरा नागरिकको सम्मान, स्वाभिमान र समृद्धि भएकाले यसमा प्रदेश प्रमुखहरूले सम्पूर्ण प्रदेशलाई केन्द्रित गर्न झक्झकाउने काम गर्नुपर्ने उनको भनाइ थियो।
विकास–निर्माण, सुशासन, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, साहित्य, कला, संस्कृतिजस्ता क्षेत्रको विकास, विस्तारमा सुझाव दिने र यी क्षेत्रमा सम्पर्क तथा सम्बन्ध विस्तार गर्ने काममा लाग्न उनले सुझाव दिए। राष्ट्रपति पौडेलले हामी सबै मिलेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्नेतर्फ लागौं भन्ने आग्रह गरे।


