काठमाडौँ– बीपी राजमार्गमा थप १ महिना राति यात्रुवाहक सवारी साधन चलाउन रोक लगाइएको छ।
बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै काभ्रे र सिन्धुलीका सीडीओ कार्यालयले थप १ महिना राति सवारी आवागमन रोक लगाउने विज्ञप्ति जारी गरेका हुन्।
जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकको बैठकले आगामी असार २२ गते देखि लागू हुनेगरी १ महिना राजमार्ग रोक लगाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिए।
यसअघि काभ्रे, सिन्धुली र रामेछाप लगाएत अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले बाढिपहिरोको जोखिमलाई मध्यनजर गर्दै १५ दिनको लागि बाढिपहिरोको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा यात्रुवाहक सवारी चलाउन रोक लगाइएको थियो।
गतअसार ७ गते देखि लागू हुनेगरी साँझ ६ः३० बजेदेखि बिहान ५ बजेसम्म १५ दिनका लागि राति यात्रुवाहक सवारी सञ्चालनमा रोकि लगाइएको थियो।
सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठका अनुसार, हाल देशमा मनसुन सक्रिय अवस्थामा रहेको हुँदा कुनै पनि समयमा वर्षातका कारण विपद्को अवस्था सिर्जना हुन सक्ने भएकाले विपद्जन्य घटनाबाट हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न र यात्रुको सुरक्षाको लागि यस्तो निर्णय गरिएको हो।
बीपी राजमार्गको काभ्रेभञ्ज्याङ–भकुण्डेबेसी हुँदै सिन्धुलीतर्फ जाने सार्वजनिक तथा निजी सवारी साधनलाई असार २२ गते साँझ ०६ः३० बजेदेखि विहान ०५ः०० बजे सम्म १ महिनाको लागि निषेध गरिएको हो।


