काठमाडौँ : श्रमदानको भुक्तानी विवादले बजेट ल्याउन नसकेको धरान उपमहानगरपालिकामा प्रमुख र प्रशासकीय अधिकृतबीच विवाद झनै चुलिएको छ।
योजना भुक्तानीको विषयलाई लिएर नगरप्रमुख हर्क साम्पाङ र अधिकृत अम्बिकाप्रसाद चौलागाईँबीचको विवाद स्पष्टीकरण माग्ने स्तरसम्म पुगेको हो। साम्पाङले दुई महिनाअघि सम्पन्न भइसकेको योजनाका भुक्तानी रोकिनुको कारण मागेका छन्।
यही असार २ गते धरान- १६ स्थित बहुभाषिक पाठशालालाई बाढीबाट जोगाउन सर्दुखोलामा लगाइएको तारजाली विवादले महानगरमा तनाव सिर्जना भएको थियो। शुरुमा श्रमदान भनिएको योजनामा केही सीमित व्यक्तिको डोरहाजिर गराएर मेयरले भुक्तानी मागेको भन्दै विवाद भएको थियो। यो भुक्तानी अहिलेसम्म पनि रोकिएको छ।
त्यसै विषयमा मेयर साम्पाङले लिखित स्पष्टीकरण मागेका हुन्। मेयर साम्पाङले पत्रमा आफूले सम्झौता गरी सबै प्रक्रिया पूरा भइसकेको र सार्वजनिक परीक्षणसमेत भइसकेको अवस्थामा भुक्तानी रोकिएकोमा आपत्ति जनाएका छन्। नगरप्रमुख साम्पाङ, उपप्रमुख आइन्द्रविक्रम बेघा र प्रशासकीय अधिकृतबीचको विवादले महानगरले आगामी वर्षको बजेट समेत ल्याउन सकेको छैन।








