काठमाडौँ– इँट्टाभट्टामा जिउँदो मान्छेलाई जलाएको अभियोगमा दोषी ठहर भएका नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमलाई जेठ १४ गते उच्च अदालत वीरगञ्जले सफाइ दियो।
उच्चका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्ट्याउँदै उक्त घटनामा यथेष्ट प्रमाण नभेटिएको भन्दै आलमलाई सफाइ दिएको थियो। उच्च अदालतको फैसलामा बम पड्किएकै पुष्टि हुन नसकेको उल्लेख छ।
घटनामा परी बाँच्न सफल भएका पीडित गौरीशंकर पहिलो पटक सार्वजनिक भएका हुन्। उनले बम पड्किएको घटनाको जीवित प्रमाण आफू भएको उल्लेख गरेका छन्। बम पड्किएपछि उनी घाइते भएका थिए।
बमले उनको दुवै कान उडाइदियो, अनुहार, घाँटी र छातीमा ठूलो चोट लाग्यो। यसबारे आइतबार उनले रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनमा सबै बेलिबिस्तार लगाएका छन्।
बम विस्फोटबाट बाँच्न सफल भएका पीडित गौरीशंकरले रिपोटर्स क्लबमा आयोजित कार्यक्रममा सो घटनाबारे दिएको अभिव्यक्तिको सम्पादित अंशः
म रौतहटको राजा इँटाभट्टामा काम गर्दै थिएँ। हप्ताको दिन थियो। पैसा लिन मलाई बोलाएर लिएर गयो। हामी तीन जना थियौँ। मलाई भन्यो– भाइ यता आएर तिमी आफ्नो पैसा लिएर जाऊ। घरको ढोकाको छेउमा पुगेको बम पड्कियो। आगो लागेपछि म भागेँ। घरको पछाडि पानी थियो, त्यहाँ पानी हामहालेँ। फेरि म भागेँ। त्यसपछि मलाई थाहा भएन कि म कहाँ हो ? एकैचोटी मेरो आँखा खुल्यो सीतामढीमा। आँखा खुलेपछि मैले आमालाई सोधे– कहाँ हो यो ? आमाले भन्नुभयो– यो सीतामढी हो, म तिमीलाई अस्पताल लिएर गइराखेको छु। केही चिन्ता नगर, ठिक हुन्छ तिमीलाई ।
त्यसपछि मेरो आँखा फेरि बन्द भयो। मेरो इलाज (उपचार) तीन महिनाजति भयो। मेरो उपचारमा साढे ३ लाख आईसी (भारतीय रुपैयाँ) खर्च भयो। अफ्ताबले एकचोटी पनि सोधेन– मान्छे कस्तो छ, के छ ? एक रुपैयाँ पनि दिएन। सोधेको पनि छैन। आज म सरकारसँग निवेदन गर्छु, त्यस्तो मान्छेलाई छोड्नु हुँदैन। त्यसलाई कडाभन्दा कडा सजाय दिनुप¥यो।
निर्वाचनको एक दिन पहिला बेलुकातिर बम विस्फोट भएको थियो। अफताब आलमको काकाको घरमा। मैले पनि सुनेको त्यहाँ धेरै मान्छे जलेको छ, गाउँको मान्छेले मलाई उठाएर कसरी भारतसम्म पुराए मलाई थाहा भएन। दुई जना मेरो गाउँको मान्छे पनि जलेको छ, एउटाको हातमा र अर्कोको अलिकति खुट्टामा लागेको छ। कति मान्छे घाइते भए, त्यो त मलाई थाहा भएन।
त्यहाँ बम विस्फोट भएको थियो, मलाई बम लागेको छ। अदालतको फैसलाले मलाई अन्याय भएको छ, मैले भनिराखेको छु। अरू मान्छे चाहिँ कति म¥यो मलाई थाहा भएन । इलेक्सनको एक दिन पहिला भएको छ, अफ्ताब आलमले नै बम विस्फोट गराएको त मैले भन्न सक्दिनँ। तर, उसैको घरमा भएको थियो। सुरुसुरुमा एसपी कार्यालय (प्रहरी चौकी) मा मैले बयान दिँदा मेरो घरमा गएको थियो। म घरमा नहुँदाखेरी त्यसको आदमी (मान्छे) गएर मेरो आमालाई भनेको छ– तिम्रो छोरा त गयो (म¥यो) अब। तिम्रो छोरा दुई÷चार साल बितेपछि बाँच्दैन। अफ्ताब आलमको मान्छे गएर भनेको छ। मलाइ धम्की दिएको छ ।
अफ्ताब आलाम छुटेकोमा मलाई दुःख लाग्यो, बम बनाएर, बम फ्याँकेर हामी पीडित मान्छे। त्यस्तो मान्छे छुट्यो, मलाई धम्की पनि दिएको छ ्। मलाई मार्छ, त्यस्तो मलाई लागेको छ। अब मलाई डर भयो। मेरो शारीरिक अवस्था नाजुक छ। काम पनि भेटिँदैन, काम गर्न पनि सक्दिनँ। म मर्ने कि बाच्ने, मैले केही पनि देखिनँ। (रुँदै) कसरी बाँचौँ म यो दुनियाँमा ।


