२०८३ कार्तिक १६ गते आईतबार

देउवाको अवकाशदेखि व्यक्तिगत घोचपेचसम्मले साताभर गर्मायो कांग्रेस

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २३
Congress_CC_samsadiya_dal (3)

काठमाडौँ- असार १६ गते सुरु भएको नेपाली कांग्रेस केन्द्रीय समिति बैठक समापन भएको छ।

बैठकको अन्त्यमा सोमवार सभापति शेरबहादुर देउवाले बोलेसँगै बैठक समापन भएको छ।

प्रत्येक दुई महिनामा केन्द्रीय समितिको बैठक बस्नुपर्ने विधानको व्यवस्थालाई बेवास्ता गर्दै ९ महिनापछि कांग्रेस बैठक बसेको हो।

कांग्रेस महामन्त्री गगन थापाले कांग्रेसमा बैठकमा छलफलका लागि १३ बुँदे प्रस्ताव पेस गरेका थिए।

बैठकको सुरुमा नै पार्टीका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधनसम्बन्धी प्रस्ताव र प्रतिष्ठानको प्रतिवेदन प्रस्तुत गरेका थिए।

महामन्त्री गगनकुमार थापाले बैठकको एजेण्डा प्रस्तुत गर्नुका साथै क्रियाशील सदस्यता नवीकरण प्रगति विवरण सम्बन्धमा बैठकलाई जानकारी गराएका थिए। केही भ्रातृ संस्था बारे निर्देशक समितिको रायका आधारमा उपयुक्त निर्णय सम्बन्धमा र नेपाली जनसम्पर्क समितिको व्यवस्थापन र विस्तार सम्बन्धमा प्रस्ताव प्रस्तुत गरेका थिए।

बैठक सुरु भएको दिनमा नै थापाले प्रस्ताव पेस गरेको भएपनि केन्द्रीय समितिका सदस्यहरू ती प्रस्तावहरूमा मात्र केन्द्रित भएनन्। आफूमाथि लागेका आरोपको खण्डन गर्न र अरूमाथि दोषारोप गर्न केन्द्रीय समितिको बैठक प्लेटफर्म बन्यो।

विशेषगरी कांग्रेस बैठकमा आगामी महाधिवेशन, एमालेसँगको सरकारको समीक्षा, संविधान संशोधन र पार्टीका आन्तरिक विषयमा धारणा राख्ने काम भएको छ।

संविधान संशोधन कार्यदल
एमालेसँग सत्ता सहकार्य गर्दा नै संविधान संशोधन गर्ने भनी मुद्दा देखाएपनि सरकारले यो विषयमा कुनै काम अघि बढाएको छैन।

सरकारले कुनै काम अघि नबढाएपछि कांग्रेस आफैँले अग्रसर बनेर संविधान संशोधनको खाका तयार पार्न पार्टीमा कार्यदल गठन गर्ने निर्णय कांग्रेसले गरेको हो।  बैठकको समापनअघि महामन्त्री विश्वप्रकाश शर्माले पार्टीका निर्णय वाचन गरेर सुनाएका हुन्।

‘नेपाली कांग्रेसको असार १६ देखि २३ गतेसम्म भएको केन्द्रीय समिति बैठकले नेपाली कांग्रेसको नेतृत्वमा बनेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयनको एक दशकको समीक्षा गर्दै यसका सवल पक्ष र दुर्वल पक्षको पहिचान गर्दै संविधानमा आवश्यक संशोधनलाई सार्थक निष्कर्षमा पुग्न आन्तरिक कार्यदल गठन गर्दछ,’ शर्माले भने, ‘संविधान संशोधनका लागि नेपाली कांग्रेस संविधान निर्माणमा संलग्न दलहरूसँग सहकार्य गर्दछ र नागरिक समाज र सरोकारवालाहरूसँग पनि परामर्श गर्नेछ।’

बैठकमा निर्णय सार्वजनिक गर्नुअघि सभापति शेरबहादुर देउवाले संविधान संशोधनका लागि राष्ट्रियसभामा संख्या अपुग भएकाले अहिले यो विषयलाई थाती राखेको बताएका छन्।

सत्ता सहकार्यमा नेकपा एमालेसँगै कुनै असहज नभएको बताएका थिए। उनले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीसँग कुनै समस्या नभएको जिकिरि गरेका थिए।

ठूला दलबीच बनेको सरकारमा केही समस्या भए पनि दुवै पार्टीका शीर्ष नेता बसेर समाधान गर्न सकिने र त्यही गरिरहेको बताएका थिए।

‘कांग्रेस र एमालेको गठबन्धन भएको छ। यो गठबन्धन हामीले बनाएका हौँ। यसमा समस्या छैन,’ उनले भने, ‘ठूला पार्टीबीचको गठबन्धनमा केही समस्या आउनु स्वाभाविक हो। तर हामीले समस्या समाधान गर्न सक्छौँ। गठबन्धनको सरकार पूरा समय चल्ने छ। संविधान संशोधनको कुरा उठेको छ। यसमा ओलीजी पनि तयार हुनुहुन्छ। तर राष्ट्रिय सभामा संख्या कम भयो। ओलीसँग कुनै समस्या छैन। समस्या भए पनि समाधान गर्न सक्छौँ।’

उनले नेपालको संविधान समावेशी खालको भएकाले संशोधन गर्दा त्यसलाई ध्यान दिनुपर्ने बताएका थिए।

देउवाको अवकाश
नेपाली कांग्रेसको विधानअनुसार दुई कार्यकालभन्दा बढी सभापति बन्न मिल्दैन। यही अनुसार देउवाले आफूले अवकाश लिन लागेको पनि बताएका छन्। आफूले आगामी वर्ष २०८३ को मंसिरमा पार्टीको सत्ता हस्तान्तरण गर्ने योजना देउवाले बुनेका छन्।

तर केन्द्रीय समितिमा बोल्ने नेताहरूले देउवाको अवकाश योजना सुन्न हतार गरेपछि त्यसको जवाफ पनि देउवाले केन्द्रीय समिति बैठकमा नै फर्काएका छन्।

महामन्त्री विश्वप्रकाश शर्माले ०८३ असारपछि अवकाश लिन देउवालाई सुझाव दिएका थिए। तर त्यसलाई देउवाले सहज लिएनन्। आफ्नो बोल्ने पालोमा जवाफ फर्काए।

देउवाले आफूले राजनीतिबाट अवकाश लिने विषयमा अरूले भनेर नहुने जवाफ शर्मालाई दिए।

चितवनमा पुगेर पार्टीबाट अवकाश लिने बेला आयो भन्दै देउवाले दिएको अभिव्यक्तिको प्रशंसा गरेका महामन्त्री शर्माले देउवालाई फेरि प्रधानमन्त्रीको दौडमा नलाग्न सुझाव दिएपछि आक्रोशित बनेका थिए।

‘चितवनमा बोल्दा अवकाश लिने बेला आयो भन्नुभयो। यो प्रशंसनीय छ। पार्टी एक बनाउँछु भन्नुभयो, यो पनि सकारात्मक कुरा हो,’ शर्माले भने, ‘तर, नीतिमा, सिद्धान्तमा सबै कुरामा एकता छ। विवाद/प्रतिस्पर्धा कि प्रधानमन्त्री पदका लागि छ, कि सभापति पदका लागि छ।’

पार्टीको विधानमा कति पटक प्रधानमन्त्री बन्न पाउने भन्ने उल्लेख छैन। तर शर्माले अब प्रधानमन्त्री पनि नबन्न दबाद दिएपछि देउवाले आफूलाई अरुले भनेर नहुने जवाफ दिए। ‘म के गर्छु मेरो कुरा हो, मैले कसैलाई पनि भनेर गर्ने होइन,’ देउवाले भने, ‘म अप्ठेरो मानिस हुँ नि, विचार गर्नुस्!’ देउवाले उक्त कुरा बताएपछि बैठकमा नेताहरूले हाँसोको फोहरा छुटेको थियो।

महाधिवेशन कहिले?
कांग्रेस विधानमा हरेक ४ वर्षमा महाधिवेशन हुनुपर्ने व्यवस्था छ। २०७८ साल मंसिरमा महाधिवेशन भएकाले यसपालि महाधिवेशनको वर्ष हो।

साधारण अवस्थामा महाधिवेशन हुने हो भने केही महिनामा नै हुनुपर्ने अवस्थामा विधानले दिएको एक वर्ष अवधि तन्काउने अवस्था छ। यो कुरा देउवाले पनि बैठकमा उठाएका छन्।

पार्टीको १५ औँ महाधिवेशनको मिति तोक्नुपर्ने विषयमा नेता शेखर कोइरालालगायतका थुप्रै नेताहरूले बताएपछि देउवाले जवाफ फर्काए।

चार वर्षे नियमित कार्यकाल भए पनि विधानअनुसार एक वर्ष थप्न पाउने र संविधानअनुसार अरू ६ महिना कार्यकाल लम्ब्याउन पाउने अधिकार भएको उनले स्मरण गराए।

‘नेपालको संविधानअनुसार ६ महिना बढाउन पाइन्छ। पार्टीको विधानअनुसार चार वर्षभन्दा बढ्ता पाइँदैन, मैले भनेकै हो,’ देउवाले भनेका छन्, ‘नेपालको संविधानको कुरा गरेको हो मैले।’

अर्को बैठकमा मिति!
महामन्त्री गगन थापाले अर्को केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तोक्न प्रस्ताव गर्ने जिकिर गरेका छन्। २०८३ को मंसिरभन्दा पर लगेर १५औं महाधिवेशन हुन नसक्ने उनको भनाइ छ।

‘त्यसैले ८३ मंसिरसम्म पनि नपुर्‍याइकन सकेसम्म छिटो हामीले गर्‍यौं भने स्थानीय निर्वाचनको तयारीका लागि पार्टीले आन्तरिक काम गर्न पाउँछ,’ उनले भनेका थिए, ‘कोही महाधिवेशन गर्ने पक्षको, कोही महाधिवेशन नगर्ने पक्षको, कोही छिटो गर्ने, कोही ढिलो गर्ने, जुन कुरामा हामी कोही पनि छैनौं।’

विगतमा महाधिवेशन हुने कार्यतालिका निश्चित भएपछि क्रियाशीलको पोको खोल्ने गरिएको भन्दै उनले यसपालि त्यस्तो नहुने जिकिर गरे। ‘पार्टीका नेताहरूलाई मैले अनुरोध गर्न खोजेको, कम्तीमा आफ्नो निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता रिन्यु नहुने कुराको सन्दर्भमा अलिकति बढी त्यहाँ काम गर्दिनुपर्नेछ,’ नेताहरूलाई थापाले आग्रह गरेका थिए।

उनले आगामी असोजमा बस्ने केन्द्रीय समिति बैठकले पार्टीको १५औं महाधिवेशनको मिति तोक्ने बताए। उनले क्रियाशील नवीकरणको विषयमा मेहनत गर्नुपर्ने बताए। यसअघि सदस्यता लिएकामध्ये ८० प्रतिशतले नवीकरण गर्ने सम्भावना रहेको उनको भनाइ छ। उनले नवीकरणको काम सकेपछि मात्रै नयाँ सदस्यता वितरणको काम सुरु हुने जानकारी गराए।

’दसैंअघि असोजमा केन्द्रीय समिति बैठक गरेर महाधिवेशन तिथिमिति तय गर्ने हो,’ उनले भने, ‘महाधिवेशनका लागि तयारी भइरहेको छ। तयारी केही भएको छैन भनेर कसैले पनि बाहिर नभनौँ।’

थापाले अन्तमा नेताहरूले सबैले नवीकरण र नयाँ सदस्यता वितरणका लागि मेहनत गर्नुपर्ने पनि दोहोर्‍याएका थिए।

बेवारिसे विश्वको प्रस्ताव
महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री फेरिरहने प्रवृत्तिलाई हटाएर स्थायी सरकार गठनमा ध्यान दिनुपर्ने बताएका छन्। केन्द्रीय कार्यसमितिको बैठकमा शर्माले प्रधानमन्त्री कसरी ५ वर्ष टिकाउने भन्नेबारे प्रस्ताव र सुझाव पेस गरे।

’बितेको ७५ बर्षमा कोहि पनि प्रधानमन्त्री लगातार ५ बर्ष टिक्न सकेनन्। संविधान संशोधन गर्दा स्थिर प्रधानमन्त्रीका लागि केही नवीन दृष्टि बनाउन जरुरी छ। त्यसका लागि मेरो ५ स्टेपको प्रस्ताव छ’ उनले भने।

आमनिर्वाचनमा प्रत्यक्ष तर्फको सिट र लोकप्रिय मतको आधारमा बन्ने पहिलो दलले सरकारको नेतृत्व गर्ने र सरकार गठन गर्नुपर्ने उनको प्रस्ताव छ।

यस्तै पहिलो दललाई सामान्य बहुमत नपुगेको स्थितिमा जित्नेले सबै लैजाने सिद्धान्त बमोजिम निर्वाचनअघि नै आयोगमा बुझाइएको विज्ञहरुको नामबाट अपुग सिट पहिलो दलले प्राप्त गर्ने व्यवस्था गराउनुपर्ने पनि उनको सुझाव छ।

पहिलो दलले संसदीय दलबाट चयन गरेको सांसद संसदीय दलको नेता हुँदै नेपालको प्रधानमन्त्री बन्नेर।प्रधानमन्त्रीले मन्त्रिपरिषद्मा निश्चित संख्यामा विज्ञहरू सोझै सरिक गराउन सक्ने व्यवस्था गर्न उनको सुझाव छ।

प्रधानमन्त्रीले पटकपटक विश्वासको मत लिनुपर्ने व्यवस्था पनि प्रस्ताव गरेका छन्। यस्तै कुनै पनि व्यक्ति दुईपटक मात्रै प्रधानमन्त्री बन्न सक्ने उनको प्रस्ताव छ। तर उनको प्रस्तावमा कसैले पनि चासो केन्द्रित गरेनन्।

दुई घोचपेचले तरंग
बैकको सुरुकै दिनमा डा शेखर कोइरालाले बोलेका थिए। उनले उद्योगपति समेत रहेका केन्द्रीय सदस्य विनोद चौधरीका विषयमा विभिन्न टीकाटिप्पणी गरे। यी दुई नेताबिचको आरोपप्रत्यारोपले चर्चा पाएको छ। महामन्त्री गगन थापा र मोहनबहादुर बस्नेतबीचको छेडखानी पनि रोचक बनेको थियो।

बैठकको पहिलो दिन कोइरालाले लिखित धारणा राखेपछि त्यसको एक दिनपछि चौधरीले उनलाई जवाफ फर्काएका थिए। कोइरालाले कांग्रेसको केन्द्रीय सदस्य बन्न चौधरीको योग्यतामा नै प्रश्न उठाएका थिए।

‘विनोद चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यता थियो कि थिएन? त्यो हेरियो? क्रियाशीलको १० वर्षे अवधि पुग्थ्यो? सभापतिज्यूलाई स्मरण होला, पहिलो पटक गिरिजाप्रसाद कोइरालासँग उहाँ सभापतिमा प्रतिस्पर्धा गर्दै हुनुहुन्थ्यो। उक्त महाधिवेशनमा सुजाता कोइरालाले केन्द्रीय सदस्य लड्ने इच्छा व्यक्त गर्नुभयो। १० वर्ष नपुगेकाले गिरिजाबाबुले सुजातालाई उम्मेदवार बन्न दिनुभएन।’ पञ्चायतकालमा राजपरिवारसँग र पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापासँग निकट सम्बन्ध बनाएका चौधरी २०४६ पछि नेकपा (एमाले)सँग नजिकिएका थिए। २०७० मा एमालेको कोटामा समानुपातिक सांसद बने। २०७४ को प्रतिनिधि सभा निर्वाचनअघि कांग्रेसमा प्रवेश गरे। त्योसँगै उनी मधेशीको कोटामा समानुपातिक सांसद र कांग्रेसको चौधौं महाधिवेशनबाट मधेशी कोटाबाटै केन्द्रीय सदस्य चुनिएका थिए। २०७९ को चुनावमा प्रत्यक्ष चुनाव जितेर अहिले नवलपरासी-१ बाट विजयी बनेका छन्।

कोइरालाले प्रश्न उठाएको भोलिपल्टै केन्द्रीय सदस्य चौधरीले डा. कोइरालालाई जवाफ फर्काए। ‘उहाँले हिजो प्रश्न उठाउनु भयो कि विनोद चौधरीजस्तो मान्छेलाई चार वर्ष अगाडि नीतिनियम मिचेर केन्द्रीय समितिमा ल्याउनु गलत निर्णय थियो। मेरो पहिलो प्रश्न– पहिलो त म उहाँलाई जानकारी गराउन चाहन्छु कि त्यो सारा विधि कुराहरू पार्टीको नियम, अर्को पार्टीबाट आएको पृष्ठभूमि, त्यसको कानुनी परिप्रेक्ष्य पार्टीको कानुन विभागले गरेको त्यसको विश्लेषण र त्यसपछिको निर्णय, अदालतले समेत गरेको निर्णय अनुसार भएको हो,’ उनको भनाइ थियो।

चौधरीले बैठकमै आफूलाई प्रतिनिधि सभा निर्वाचनको वेलामा हराउन डा.शेखरले मान्छे खटाएको आरोप पनि लगाइदिए, ‘घरघर गएर यो पार्टीको आधिकारिक उम्मेदवारको विरोधमा हृदयेश त्रिपाठीका लागि ठाउँठाउँमा बुथबुथमा मान्छे राखिकन यस पार्टीका शीर्षस्थ नेताहरूलाई तथानाम गाली गरिकन हराउनका लागि हरप्रयास गर्ने लुम्बिनी प्रदेशको महामन्त्रीको पदमा आसीन भएर बस्ने मान्छेलाई बोकेर हिँड्ने नेताले यो पार्टीलाई हाँक्ने हो भोलिको दिन?’

चौधरीले सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै शेखरले गुटको राजनीतिमा सीमा नाघेको आरोप लगाएका थिए। उनले शेखरमाथि कारबाहीको माग गर्दै भने, ‘म सभापतिलाई फेरि पनि आग्रह गर्न चाहन्छु- गुटको राजनीतिको पनि एउटा सीमा हुन्छ। यो अहिलेको कारबाही मात्र होइन, यसपछि पनि सधैँ नै यस्ता किसिमका गतिविधिमा संलग्न हुने, पार्टीलाई नोक्सान पुर्‍याउने, पार्टीका आधिकारिक उम्मेदवारलाई नोक्सान पुर्‍याउने, आफ्ना जिम्मेवारीलाई पूरा अगाडि नबढाउने, त्यस्ताका खिलाफमा उजुरीमात्रै हैन, तत्काल कारबाही गर्ने वातावरण बनाउन सक्नुपर्दछ।’ यसपछि यो विषयमा विभिन्न नेताहरूले कोइरालाको पक्षविपक्ष र चौधरीको पक्षविपक्षमा धारणा राखे। शेखरलाई दिनेश कोइरालाले साथ दिएका थिए। शेखरको पक्षमा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की, कांग्रेसका पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरेसहितका धारणा बनाएर उनको प्रतिरक्षा गरे।

केन्द्रीय समितिमा महामन्त्री गगन थापा र केन्द्रीय सदस्य मोहन बस्नेतबीचको छेडछाड पनि रोचक बन्यो।

महामन्त्री थापाले टेरामक्स प्रकरणमा आफूविरुद्ध बढी बोल्ने गरेको आरोप लगाए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा हाल्नुको कारण गगन थापाले गरेको विरोध भएको विषयलाई पनि उनले बैठकमा उठाए।

‘महामन्त्री गगनजी, तपाईं सबै नेतालाई समाउन लगाउनुस्। भ्रष्टाचारको मुद्दामा एउटाले अर्कोलाई सकाउनका लागि नेपाल पाकिस्तानको मोडलमा गएको छ। समय लाग्ला, कोही पनि सग्लो देखिने छैनन्,’ बस्नेतले भनेका थिए।

बस्नेतलाई महामन्त्री थापाले जवाफ फर्काइहाले। महामन्त्री थापाले फोहोर चलाएर आफू फोहोरी नबन्ने बताए । ‘फोहोर चलाएर म फोहोरी बन्न चाहन्नँ,’ थापाले भनेका थिए। थापाले सभापति शेरबहादुर देउवालाई प्रत्यक्ष सम्बोधन गर्दै आफ्नो अनुपस्थितिमा केन्द्रीय समितिको बैठकमा धम्कीपूर्ण भाषा र अभद्र व्यवहार देखाउने प्रवृत्तिको आलोचनासमेत गरे। थापाको समर्थनमा केन्द्रीय समितिको बिहीबारको बैठकमा अजयबाबु सिवाकोटीले धारणा राखेका थिए। बैठकमा केन्द्रीय सदस्य नागिना यादवले बस्नेतमाथि अन्याय बताइन्। यो विषयमा पनि कांग्रेस बैठकले ल्यायो।

क-कसले बोले?
असार १६ गते सुरु भएको बैठकमा असार २२ गते सहमहामन्त्रीहरू— फरमूल्लाह मंसुर, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, ब्रदीप्रसाद पाण्डे र जीवन परियार र कोषाध्यक्ष उमेश श्रेष्ठले बोलेका थिए।

यस्तै, केन्द्रीय सदस्यहरू— गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, प्रवक्ता डा. प्रकाशशरण महत, बलबहादुर के.सी., डा. मिनेन्द्र रिजाल, एन.पी. साउद, आनन्दप्रसाद ढुंगाना, डा. चन्द्रकान्त भण्डारी, अजयकुमार चौरसिया, अम्बिका बस्नेत, शंकर भण्डारी, धु्रव वाग्ले, मधु आचार्य, प्रकाश रसाइली स्नेही, नानु वास्तोला, भीम पराजुली, रुक्मिणी कोइराला र आमन्त्रित रुपमा बैठकमा सहभागी वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले धारणा राखेको कांग्रेस कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

असार २० गते केन्द्रीय सदस्यहरू— ज्ञानेन्द्रबहादुर कार्की, दिलेन्द्रप्रसाद बडू, दिपक गिरी, सुजाता परियार, कल्याणकुमार गुरुङ, सरिता प्रसाई, अमृत अर्याल, कल्पना चौधरी, किरणराज शर्मा पौडेल, गेहेन्द्र गिरी, तारामान गुरुङ, राजीव कोइराला, उमेशजंग रायमाझी, अब्दुल सत्तार, राजीव ढुंगाना, रामहरि खतिवडा, अञ्जनी श्रेष्ठ, चम्पादेवी खड्का, मुक्ताकुमारी यादव, प्रतिमा गौतम, प्रा.डा. गोविन्दराज पोखरेल, सुशिला मिश्र भट्ट, डा. गंगालक्ष्मी अवाल, सुशिला थिङ, सुशिला ढकाल (आचार्य), शान्ति परियार वि.क., डा. जीवन राना, धना खतिवडा, गोमाकुमारी भट्टराई, अनिलकुमार रुंगटा, आमन्त्रित केन्द्रीय सदस्य दिपक खड्का, आमन्त्रित रुपमा बैठकमा सहभागी मन्त्रीहरु— तेजुलाल चौधरी (युवा तथा खेलकूद) र रामनाथ अधिकारी (कृषि तथा पशुपंक्षी विकास) ले आ–आफ्नो धारणा राखेका थिए।

असार १९ गते केन्द्रीय सदस्यहरू— अर्जुननरसिंह के.सी., सुरेन्द्रराज पाण्डे, ईश्वरी न्यौपाने, सीता गुरुङ, गोविन्द भट्टराई, चिनकाजी श्रेष्ठ, रामजनम चौधरी, आङ्गेलु शेर्पा, प्रदिपकुमार सुनुवार, डा. रणबहादुर रावल, महेन्द्रकुमारी लिम्बू, सरस्वती बजिमय, सरस्वती अर्याल तिवारी, हरिशरण नेपाली, नागिना यादव, अजयवावु शिवाकोटी, दिनेश कोइराला, सीता थपलिया (उर्मिला), कल्याणी रिजाल र लक्ष्मी खतिवडाले धारणा राखेका थिए।

असार १८ गते केन्द्रीय सदस्यहरू— श्यामकुमार घिमिरे, मोहनबहादुर बस्नेत, शिवप्रसाद हुमागाँइ, कर्णबहादुर बुढा, गोविन्दबहादुर शाह, राजेन्द्रकुमार के.सी., ई. मोहन आचार्य, रंगमती शाही, कान्तिका सेजुवाल, विद्यादेवी तिमिल्सीना, आमन्त्रित प्रदेश सभापतिहरू— उद्धव थापा (कोशी), कृष्णप्रसाद यादव (मधेश), ईन्द्रबहादुर बानियाँ (बागमती), अमरसिंह पुन (लुम्बिनी), ललितजंग शाही (कर्णाली) र बीरबहादुर बलायर (सुदूरपश्चिम) ले बोलेका थिए।

असार १७ गते केन्द्रीय सदस्यहरु रमेश रिजाल, उमा रेग्मी, जीपछिरिङ लामा, अर्जुनप्रसाद जोशी, मीनबहादुर विश्वकर्मा, देवेन्द्रराज कण्डेल, डा. डिला संग्रौला, रमेश लेखक, किरण यादव, लक्ष्मी परियार, कृष्णकिशोर घिमिरे, टेकप्रसाद गुरुङ, चन्द्रबहादुर के.सी., मानबहादुर नेपाली, उदयशम्शेर राणा, दिलमान पाख्रिन, रामहरि खतिवडा, विनोदकुमार चौधरी, गुरू बराल, उर्मिला नेपाल के.सी., सीताकुमारी राना, राधा घले, सितादेवी देवकोटा, शारदा पौडेल र आमन्त्रित सदस्य पुष्पराज पराजुलीले बोलेका थिए।

असार १६ को बैठकमा— कोषाध्यक्ष उमेश श्रेष्ठ, केन्द्रीय सदस्यहरु— डा. शेखर कोइराला, बलबहादुर के.सी., कृष्णचन्द्र नेपाली पोखरेल, पुष्पा भुसाल, डा. गोपाल दहित, योगेन्द्र चौधरी, नैनसिह महर, मदनकृष्ण श्रेष्ठ र भरतकुमार शाहले बोलेका थिए।

प्रकाशित: २०८२ असार २३ गते सोमबार ०९:३३
प्रतिक्रिया

थप समाचार

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना