काठमाडौँ- मुस्ताङको लोमान्थाङ गाउँपालिकामा पर्ने चुङजुङ खोलामा अकस्मात् बाढी आएको छ।
चुङजुङ गाउँमा एक घन्टादेखि अकस्मात बाढी आएको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम परियारले जानकारी दिए।
चुङजुङ खोलाको मुहान चीनको तिब्बततर्फ पर्छ। नेपालतर्फ भने वर्षा भएको छैन। चीनमा वर्षा भएको या नभएको कुनै जानकारी प्राप्त हुन नसकेको परियारले जानकारी दिए। उनले चीनतर्फ पनि सम्पर्क गर्न खोजिरहेको जानकारी दिए।
खोलामा अकस्मात् बाढी आउन थालेपछि खोला किनारमा रहेका दुई वटा घरका मानिसहरूलाई अन्यत्रै सारिएको परियाले जानकारी दिए।
लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङले खोलामा अकस्मात बाढी आउँदा दुई पुल बगाएको सूचना पाएको बताए।
यो खोला लोमान्थाङ हुँदै कालीगण्डकीमा मिसिन्छ। कालीगण्डकी वरपर पनि सतर्क रहनुपर्ने अवस्था देखिएको परियारले जानकारी दिए।
चुङजुङ खोला लोमान्थाङ गाउँपालिकाको वडा नम्बर ४, १ र २ हुँदै अघि बढ्छ। हालसम्म मानवीय क्षति भएको छैन।
उता भोटेकोशी नदीमा बाढी आउँदा १८ जना बेपत्ता छन्। यो नदीमा पनि खासै वर्षा बिना नै ठूलो बाढी आएको थियो।
वर्षा बिना नै बाढी आएकाले हिमताल फुटेको हुन सक्ने आशंका गरिएको छ।


