काठमाडौँ- २०८२ असार २३ गते राति ९ बजे संसद भवनभित्र ड्रोन खस्यो। ड्रोन कसले र किन पठाएको भन्ने विषयमा आम मानिसहरूले जिज्ञासा व्यक्त गरे। सुरक्षा संवेदनशील क्षेत्रमा मानिने संसदभित्र ड्रोन खसेपछि प्रहरीले यो विषयमा खोजी सुरु गरेको थियो।
प्रहरीअनुसन्धानका क्रममा उक्त ड्रोन बानेश्वरकै टेकस्पायर कलेजको भएको पाइएको छ। कलेजले पनि आफ्नो ड्रोन संसद भवनभित्र खस्न पुगेको स्वीकार गर्यो। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले यो विषयमा अनुसन्धान गर्न ४ जनालाई नियन्त्रणमा लिइएको जानकारी गराएका छन्।
बोहराका अनुसार कलेजका विद्यार्थीले अभ्यास गर्ने क्रममा ड्रोन खसेको रहेछ। प्राविधकि गडबढीका कारण उक्त ड्रोन संसद भवनभित्र खस्न गएको भनी कलेजका विजयबाबु रेग्मीले प्रहरीलाई जानकारी गराएका छन्। प्रहरीले रेग्मी र विद्यार्थीहरु सुमन महर्जन, सुजलकाजी श्रेष्ठ, समिप खतिवडा र अफताव रेजासँग सोधपुछ गरेको हो। उनीहरू ‘ब्याचलर अफ साइन्स इन आईटी’ मा तेस्रो र दोस्रो सेमेस्टारमा अध्ययनरत हुन्।
उनीहरूले अघिल्लो दिन उडाएको ड्रोन २४ गते बिहान साढे ९ बजे संघीय संसद भवनको दक्षिणतर्फको छतमा फेला परेको थियो। यो क्षेत्र ड्रोन उडाउन निषेधित क्षेत्र हो। कलेजले ड्रोनका अन्य उपकरण पनि प्रहरीलाई जिम्मा लगाएको छ।


