काठमाडौँ- हवाई यात्राबाट विदेश जानका लागि अनिवार्य गरिएको कोभिड खोप कार्डको प्रावधान हटाइएको छ। यसका साथै पीसीआर नेगेटिभ भएको रिपोर्ट पेस गर्नुपर्ने नियमसमेत हटाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार ३१ वैशाखमा बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले हवाई यात्रुका लागि ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिर्पोट वा खोप अनिवार्य गरिएको नियम हटाउने निर्णय लिएको हो। मन्त्रालयले आइतबार नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाउँदै यस्तो व्यवस्था कार्यान्वयन गर्न भनेको छ।
नेपालले अनिवार्य नगरेपनि सम्बन्धित देश जाने व्यक्तिका हकमा सोही देशको नियम लागू हुन्छ। त्यसो हुँदा जुन देश जाने हो त्यहाँको नियमअनुसार प्रमाणित हुने कागजपत्र भने बोक्नुपर्ने छ।
विश्व स्वास्थ्य संगठनले कोभिड-१९ लाई विश्वव्यापी महामारीबाट हटाइसकेको छ।


