काठमाडौँ- नेपाली कांग्रेसका युवा नेताहरुले सञ्चालन गरेको कांग्रेस रुपान्तरण अभियानले बागमती प्रदेश भेला गरेको छ। बुधबार बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा भेला भएको हो।
कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यको अध्यक्षतामा भएको भेलामा नुवाकोट जिल्लाका पूर्वसभापति जगदीशनरसिंह केसी, देवराज चालिसे, कांग्रेस केन्द्रीय सदस्य प्रकाश रसाइली, रञ्जित कर्ण, भुपेन्द्रजङ्ग शाही, कोशी प्रदेश संयोजक गुरुराज घिमिरेलगायत नेता सहभागी भए।
भेलामा सहभागी हुन विभिन्न जिल्लाबाट कांग्रेसका असन्तुष्ट नेता तथा कार्यक्रताहरू अनुपम आइपुगेका थिए। ‘विगत लामो समयदेखि नेपाली कांग्रेसका भातृ संगठनको अधिवेशन भएको छैन,’ उनले भने, ‘पार्टीका नीति र रणनीति समयानुकुल परिमार्जित गर्नुपर्ने देखिन्छ।’रेशम चौधरीलाई सरकारले आममाफी दिएकोमा पनि उनको असन्तुष्टि छ।
जेठ ११ गते मधेशको राजधानी जनकपुरबाट नेपाली कांग्रेसको रुपान्तरण अभियान सुरु भएको थियो। यो अभियान पार्टीभित्र देखिएका कमीकमजोरी, विकृतिविसङ्गतिको अन्त्य गर्दै पार्टीमा आमूल परिवर्तन र रुपान्तरण गर्न सातै प्रदेश पुग्ने बताइएको छ।
अभियानले समग्रमा नेपाली कांग्रेसलाई बलियो, सशक्त र सुदृढ बनाउने र रुपान्तरणमा समेत उल्लेख्य सहयोग गर्ने विश्वास व्यक्त गरिएको छ। पार्टीमा नयाँ आशाको सञ्चार गर्न कार्यकर्तामा नयाँ भरोसा र आम जनतामा नयाँ विश्वास जगाउने पार्टीका नेता रञ्जित कर्णले बताएका छन्।
अभियानअन्तर्गत जेठ २० गते गण्डकी प्रदेशको पोखरामा र जेठ २२ मा लुम्बिनी प्रदेशको दाङमा प्रदेशस्तरीय भेला गर्ने कार्यतालिका छ। जेठ २४ मा कर्णाली प्रदेशको सुर्खेत, जेठ २६ मा सुदूरपश्चिम प्रदेशको धनगढी र जेठ २९ मा कोशी प्रदेशको इटहरीमा प्रदेशस्तरीय भेला गर्ने तयारी गरिएको छ।


