काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले भूमि आयोगमा नियुक्ति गर्नका लागि घुस डिल गरेको भनिएको अडियो संसदमा चर्चाको विषय बनेको छ।
मन्त्री गुप्ताले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्नका लागि ५३ लाख र भूमि आयोग कास्कीका जिल्ला अध्यक्ष नियुक्तिका लागि २५ लाख गरी ७८ लाख रुपैयाँ लेनदेन गरेको अडियो सार्वजनिक भएको थियो।
उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यो विषयमा छानबिन गरिरहेको छ। यो विषयमा संसदमा पनि प्रश्न उठेको छ।
नेकपा माओवादी केन्द्रले कर्मचारी सरुवामा मन्त्रीबाटै घुस डिल भइरहेको भनेर आएका समाचारको विषयमा आइतबार सदनमा सरकारको जवाफको मागसमेत गरेको छ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले यस विषयमा प्रधानमन्त्रीको जवाफ मागेकी हुन्।
‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्यू र भूमि व्यवस्थामन्त्रीले कर्मचारी सरुवामा ७८ लाख डिल गरेको भन्ने समाचारहरू बाहिर आइरहेका छन्। यो विषयमा के भएको हो?,’ पूर्वमन्त्रीसमेत रहेकी शर्माले भनिन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूलाई संसद्मा जानकारी गराउन अनुरोध गर्न चाहन्छु सभामुख मार्फत्।’
यसको छानबिन गरी दोषीमाथि कारबाही गर्न उनले माग गरेकी छन्। ‘अन्यथा सरकारको एक वर्षको उपलब्धि यही हुनेछ भन्ने कुरा पनि राख्न चाहान्छु,’ शर्माले भनिन्।
त्यसैगरी, प्रतिनिधिसभा बैठकको शून्य समयमा माओवादी केन्द्रकी सांसद ज्ञानु बस्नेत सुवेदीले दुई जना मन्त्रीको नाम जोडिएको गम्भीर भ्रष्टाचार मुद्दाको छानबिनका लागि सरकारको ध्यानाकर्षण गराएकी थिइन्। यो विषयमा गुप्तासँगै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको नाम पनि जोडिएको छ।
‘केही पत्रपत्रिका र सामाजिक सञ्जालमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले कास्कीका तत्कालीन मालपोत कार्यालय प्रमुखको सरुवा र भूमि आयोगको अध्यक्ष नियुक्तिमा ७८ लाख घुस डिल गरेको घटना बाहिर आएको छ,’ सांसद सुवेदीले भनिन्, ‘यसमा भूमि व्यवस्था मन्त्री बलराम अधिकारीको समेत नाम मुछिएको छ। गम्भीर भ्रष्टाचार मुद्दामा दुईजना मन्त्रीको नाम मुछिँदा सरकार मौन छ। भ्रष्टाचारीको मुख हेर्दिनँ भनेर सुशासनको नारा लगाउने प्रधानमन्त्री के गर्दै हुनुहुन्छ? यो प्रकरणको सत्य तथ्य छानबिन र दोषीमाथि कारबाहीका लागि माग गर्दछु।’
त्यसैगरी, मन्त्रीको ७८ लाख घुस डिल प्रकरण भन्ने विषय सामान्य प्रशासन मन्त्रीजीको मात्रै नभएर सम्माननीय प्रधानमन्त्रीजीको विषय पनि भएको माओवादी केन्द्रकी सांसद दुर्गा राईले बताएकी छन्।
उनले मन्त्रीको विषय विवादित भए सम्बन्धित मन्त्री र प्रधानमन्त्रीले सोच्ने विषय भएको उल्लेख गर्दै सरुवा लगायतका विषयहरूमा घुस प्रकरणको डिलको अडियोहरू सार्वजनिक भइरहँदा सरकार चुप लागेर बस्ने हो?’ भन्दै प्रश्न समेत गरेकी छन्, ‘मन्त्रीका घुसका डिलका विषय बाहिरिएपछि प्रधानमन्त्रीले एकसन लिन पर्छ कि पर्दैन?’
त्यसैगरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, सांसदहरू रेखा शर्मा, सुदन किराँती, ज्ञानु बस्नेत सुवेदी, सुर्यमान तामाङ दोङलगायतले पनि मन्त्रीले गरेको भनिएको घुस डिलको विषयमा प्रधानमन्त्रीसँगै जवाफ मागेका छन्।
प्रमुख सचेतक पाण्डेले भनेका छन्, ‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र भूमि व्यवस्था तथा सहकारी मन्त्रीको घुस डिल प्रकरणको विषय आएका छन्। तीबारे प्रधानमन्त्रीले सदनलाई जानकारी गराउन ध्यानाकर्षण गराउन चाहन्छु।’ माओवादी सांसद दोङले भ्रष्टाचारसँग मन्त्रीको सम्बन्ध के हो भनेर खोजेका छन्। ‘भ्रष्टाचार र मन्त्रीहरूबीचको सम्बन्ध के हो?यो विषयमा स्पष्ट हुन चाहन्छौं,’ उनले भनेका छन्।
मन्त्री गुप्ताले घुस बार्गेनिङ गरेको अडियोबारे विभिन्न टीकाटिप्पणी भइरहेका छन्। मन्त्री गुप्ताले भने सो अडियो एआई प्रयोग गरेर बनाइएको दाबी गरेका छन्। सामाजिक सञ्जालमा सन्देश लेख्दै उनले आरोप प्रमाणित गर्न चुनौती समेत दिएका छन्। उनी पर्सा क्षेत्र नम्बर– ३ बाट प्रत्यक्ष निर्वाचित नेकपा एमालेका सांसद हुन्।


