काठमाडौँ- भाटभटेनी सुपरमार्केटले त्रिवि शिक्षण अस्पताल महाराजगंजलाई विस्तारित सेवा (ईएचएस) भवन बनाइदिएको छ। भाटभटेनीले ९ करोड ५० लाख रुपैयाँ लागतमा अस्पताललाई ईएचएस भवन बनाइदिएको हो।
अस्पतालको ४३औं वार्षिकोत्सवको अवसर पारेर सोमबार भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले भवन अस्पताललाई हस्तान्तरण गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले भवन उद्घाटन गरे।
भाटभटेनीका अध्यक्ष गुरुङले अस्पतालका लागि भवन बनाइदिन पाउँदा आफू निक्कै हर्षित रहेको बताए। उनले बिरामीहरुले सहजरुपमा सेवा लिन पाउन् भनेर अस्पताल व्यवस्थापनको आग्रहमा भवन बनाइदिएको बताए।
प्रधानमन्त्री ओलीले गुरुङको परोपकारी कामको जति प्रसंशा गरे पनि नपुग्ने बताए। उनले अरु उद्योगी व्यवसायीलाई पनि गुरुङको अनुसरण गर्न आग्रह गरे।
गुरुङले १४ वर्षअघि २०६८ मा पनि त्रिवि शिक्षण अस्पताललाई १० करोड रुपैयाँ लागतमा आकस्मिक कक्ष भवन बनाइदिएका थिए।


