काठमाडौँ- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफूबारे सार्वजनिक भएको अडियो आफू र मन्त्रालयसँग सम्बन्धित नभएको दाबी गरेका छन्।
मन्त्रालयको एकवर्षे उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले सो कुरा बताएका हुन्। पोखरा जग्गा काण्डमा आफ्नो नाम जोडिएपछि उनले त्यसबारे प्रस्ट पारेका छन्।
‘अहिलेसम्म यो अडियोमा आएका बोल्ने भाषा, व्यक्त गर्ने व्यक्तिहरू हामीसँग सम्बन्धित छैनन्। मेरो शब्द छ कि छैन, मैले कुनै कुरा गरेको छ कि छैन भन्ने कुरा अडियोबाट स्पष्ट छ, त्यसमा मेरो चरित्रहत्या गर्ने प्रयास भएको छ,’ उनले भने, ‘कुनै आफ्नो योजना पूरा गर्न खोजेका व्यक्तिले आफ्नो अभीष्ट पूरा गर्न मालपोत अधिकृतलाई फिर्ता गराउन आएका थिए। मैले हुन्नँ भनें। त्यसपछि यी कुराहरू बाहिर आयो, यदि सार्वजनिक भएको अडिओमा कुनै संलग्नता फेला परे जस्तोसुकै सजाय पनि भोग्न तयार छु।’
उनले मालपोत अधिकृत सरुवा भएर गएपछि फेरि त्यहाँ जान्छु भनेर नभनेको पनि प्रष्ट पारेका छन्। पोखराको जग्गासँग जोडिएर मन्त्री अधिकारी पनि विवादमा मुछिएका छन् ।
