काठमाडौँ- श्रमिकको न्यूनतम तलब बढेको छ। अब श्रमिकले कम्तीमा पनि १९ हजार ५५० पाउने भएका छन्।
सरकार, रोजगारदाता र ट्रेड युनियनबीचको त्रिपक्षीय सहमतिमा चियाबगानबाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५ सय ५० रुपैयाँ निर्धारण गर्ने सहमति भएको हो। बढेको तलव साउन १ गतेदेखि लागू हुनेछ।
न्यूनतम निर्धारण समिति अध्यक्ष प्रदीप कोइरालाको संयोजकत्वमा बिहीबार श्रम मन्त्रालयमा बसेको बैठकमा श्रमिकको पारिश्रमिक निर्धारण भएको हो। यो अघिल्लो दुई वर्ष लागू भएको भन्दा २ हजार २५० रुपैयाँ बढेको हो।
चिया बगानको हकमा सरोकार पक्षसग थप छलफल हुनेछ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले औद्योगिक सम्बन्धलाई सुमधुर बनाउन तीनवटै पक्षले लचक बनेर तलब बढाएको बताए। ‘तलब तोक्ने विषयमा सधैं रोजगारदाता र श्रमिकबीच सहमति हुने गरेको थिएन। दुई पक्षबीच सहमति नहुँदा सरकारले हस्तक्षेप गर्नुपर्ने अवस्था सिर्जना भइरहेको थियो,’ उनले भने,‘यसपाली श्रृंखलाबद्ध छलफलले एकठाउमा उभिने वातावरण बन्यो।’


