काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यका र पूर्वी पहाडका जिल्लामा भारी वर्षा हुन सक्ने आकलन गरेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले अनुरोध पनि गरेको छ।
आइतवार दिउँसो देशभर साधारणतया बदली रही वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत पहाडी भूभागका धेरै स्थान तथा बाँकी भूभागका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
राति पनि देशभर साधरणतया बदली रहने अनुमान छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानमा चट्याङ पर्ने सम्भावना पनि छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश उच्च हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ।
उपत्यका र पूर्वी पहाडी क्षेत्रमा भारी वर्षा हुने अनुमान सार्वजनिक भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।
‘मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने अनुमान गरेको छ। मौसमजन्य विपतबाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गरौँ। अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु,’ उनले फेसबुकमा लेखेका छन्।
सुरक्षाकर्मीहरूलाई आवश्यक सुरक्षाको लागि तयारी अवस्थामा रहन पनि उनले निर्देशन दिएका छन्।


