विराटनगर- कोशी प्रदेश अन्तर्गत पर्ने १४ जिल्लाका कांग्रेस सभापतिले प्रदेशको नाम पुनर्विचार गर्न माग गरेका छन्। जिल्ला सभापतिहरुले संयुक्त विज्ञप्ति जारी गर्दै कोशी प्रदेशको नाम पुनर्विचारका लागि प्रदेशसभासमक्ष आग्रह गरेका हुन्।
‘द्वन्द्व पनि मेटिने, पहिचान पनि भेटिने नेपाली कांग्रेस लोकतन्त्र, संघीयता, धर्मनिरपेक्षता, पहिचान र विविधता तथा बहुलताको रक्षक हो, अगुवा हो,’ कांग्रेसका १४ जिल्लाका सभापतिहरूले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘नेपाली कांग्रेसले मात्र संघीयताको मर्म र भावनालाई आत्मसात गर्दै गल्ती कमजोरीहरुलाई सच्याउने साहस गर्न सक्छ। यही तथ्यलाई ध्यानमा राखी हामी कोशी नाम सम्बन्धमा पुर्नविचार गर्न पार्टी नेतृत्व तथा प्रदेश सभासँग विशेष आग्रह गर्दछौं।’
प्रदेशसभाले कोशी नाम राखेपछि जनताको ठूलो तप्काले अहिले विरोध गरिरहेको भन्दै वार्ताबाट आन्दोलनको निकास खोज्न उनीहरूको माग छ। ‘यो विरोधको सुनुवाई नेपाली कांग्रेसको नेतृत्वले गर्नुपर्छ भन्ने हाम्रो धारणा छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अहिले प्रदेशमा भइरहेको आन्दोलन र कोशी नाम सम्बन्धमा पार्टीको प्रदेश तथा केन्द्रको नेतृत्वले साहसिक निर्णय लिनुपर्ने आवश्यकता हामीले देखेका छौं।’
यसैगरी घाइते आन्दोलनकारीहरु तथा सुरक्षाकर्मीहरुको यथोचित उपचारमा ध्यान दिन कांग्रेसका जिल्ला सभापतिहरूले माग गरेका छन्। ‘संयमित विरोध र विरोधको सम्मान लोकतन्त्रको महान मन्त्र भएको समेत कांग्रेसका जिल्ला सभापतिहरूले स्मरण गराएका छन्।
नेपाली कांग्रेस भोजपुरका सभापति विनोद वान्तवाले लामो समयदेखि प्रदेश राजधानी लगायतका स्थान अशान्त बनेकाले तत्कालै माग सम्बोधन गरी समस्या समाधानमा दबाब पुगोस् भन्ने उद्देश्यले कांग्रेसका १४ जिल्लाका सभापतिहरू एकैठाउँ उभिएको बताए।
‘नेपाली कांग्रेसले जनताको मत, अभिमत, धारणा र विचारहरूलाई सम्मान गर्ने पार्टी हो। प्रदेश लामो समयदेखि अशान्त छ। यसरी प्रदेश अशान्त हुँदा दमन गरेर शान्त बन्दैन,’ वान्तवाले नेपाल क्लिक्ससँग भने, ‘प्रदेशसभामा बजेट निर्माणको प्रक्रियामा छलफल भइरहेको छ। बाहिर एकातिर प्रहरी छन्। एकातिर आन्दोलनकारी छन्। हामीले बनाउने बजेट पनि नागरिकहरूकै मुद्दा सम्बोधनका लागि हो। यो आन्दोलन पनि नागरिक स्तरबाट भएकाले यसलाई सम्बोधन गर्नुपर्छ।’
२०७९ फागुन १७ गते प्रदेशसभा बैठकबाट ‘कोशी प्रदेश’ नाम राख्ने प्रस्ताव दुईतिहाई बढी बहुमतले पारित भएको थियो। त्यसयता प्रदेश अशान्त छ।
चैत्र ५ गते कोशी प्रदेश नामकरणको विरोध कार्यक्रममा घाइते भएका पदम लिम्बू ‘लाजेहाङ’को चैत १० गते मृत्यु भएको थियो। सरकारले उनलाई सहिद घोषणा गर्ने निर्णय गरेपनि पहिचानका आधारमा प्रदेशको नाम राख्नुपर्ने भन्दै कोशी प्रदेशका विभिन्न स्थान काठमाडौँमा समेत विरोध भइरहेको छ।
लिम्बू संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध लिम्बूवान भोलेन्टियरका केन्द्रीय सहकमान्डर थिए। २०३७ सालमा तेह्रथुम जिल्लाको साब्लामा जन्मिएका लिम्बू मोरङ जिल्लाको लालभित्ती बस्दै आएका थिए।


