काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन्। भारत भ्रमणका लागि प्रधानमन्त्री ओली भदौ ३१ मा नयाँदिल्ली प्रस्थान गर्ने भएका हुन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री ओलीलाई दुई दिने भ्रमणका लागि भदौ ३१ गते भारत प्रस्थान गर्ने टुंगो लागेको प्रधानमन्त्री निकट स्रोतको भनाइ छ।
२०८१ असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीको अहिलेसम्म भारत भ्रमण भएको थिएन। ओली भारत भ्रमणमा जान चाहेपनि उनलाई भारतीय पक्षले निम्ता नै नदिँदा भारत भ्रमणमा जान पाएका थिएनन्। ओलीले परराष्ट्रमन्त्री डा आरजू राणा देउवालाई भारत भ्रमणमा पठाएर आफ्नो भ्रमण गराउन पटकपटक प्रयास गरेपनि राणा सफल हुन सकेकी थिइनन्।
विगतमा आरजूलाई प्रधानमन्त्री तहकै सम्मान दिएको भएपनि पछिल्लो पटक उनलाई भारतका कुनै पनि अधिकारीले भेट दिएनन्।
गत वर्ष भदौको पहिलो साता भारत भ्रमणमा गएकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नयाँदिल्लीमा ‘अनपेक्षित’ सम्मान पाएकी थिइन्। परराष्ट्रमन्त्री आरजु राणाले भदौ ३ गते सोमबार साँझ साढे ७ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निवासमा भेटेकी थिइन्। मोदीसँगै भारतीय पक्षबाट उच्च तहका पदाधिकारी सहभागी थिए। प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेशमन्त्री डा. एस जयशंकर, विदेशसचिव विक्रम मिश्री, मोदीका निजी सचिव पिके मिश्र र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव उपस्थित थिए। भारतीय प्रधानमन्त्रीले विदेशका मन्त्रीहरूसँग भेट गर्दा यति धेरै अधिकारीहरूलाई राख्ने अभ्यास कमै मात्र छ।
उनलाई प्रधानमन्त्रीहाराहारीकै महत्व दिल्लीले दिएको थियो। सरकारले यसको आकलनसमेत गरेको थिएन। भारतले राणालाई प्रधानमन्त्री तहकै सम्मान दिएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका पनि थिए। तर त्यसयता राणाले यति ठूलो मूल्य पाउन सकिनन्। प्रधानमन्त्री ओलीलाई बोलाइदिनू भन्नका लागि पटकपटक दिल्ली पुगेकी राणाको सम्मान क्रमश: खस्कँदै गयो।
२०८१ मंसिर २२ गते राणा इन्टरनेननल कोर्ट अफ जस्टिस (आईसीजे)को जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा भाग लिन हेगका लागि काठमाडौँबाट उडेकी थिइन्। युरोपका जर्मनी, बेल्जियम र लक्जेम्बर्ग पुगेर आरजु उतैबाट पुस ४ गते सिधै भारतको राजधानी नयाँदिल्ली पुगेकी थिइन्। उनी पुगे ७ गतेसम्म दिल्लीमा नै रहिन्। तर भारतीय राजनीतिका कुनै पनि उच्च पदस्थ नेताहरूले भेट दिएनन्। आफैँले राखी बाँधिदिएका भारतीय भाइले पनि उनीसँग भेट गर्न मानेनन्। आरजु निराश बनिन्।
अथक प्रयासका बाबजुद पनि राणाले भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित साह, रक्षामन्त्री राजनाथ सिंह, विदेश मन्त्रालयका सचिव विक्रम मिश्री, भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभाल, भारतीय गुप्तचर संस्था रअका प्रमुख र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग इन्चार्ज डा.विजय चौथाइवालेले पनि भेट दिएनन्। प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण गराउने वातावरण तयार गर्न भारत हानिएकी आरजुलाई सबैले ‘व्यस्तता’ देखाउँदै भेटवार्ता गर्न इन्कार गरे। भाजपाका विदेश विभाग इन्चार्ज चौथाइवालेलाई राणाले लगाइदिएको राखीको सामान्य मानमनितोसम्म भएन।
भारतमा कसैसँग पनि भेट्न नपाएपछि राणाले आफूले कसैलाई भेट्न नै इच्छा व्यक्त नगरेको बरु उपचार गराएर फर्किएको बताइन्। उनको सचिवालयले पनि त्यस्तै भाष्य सिर्जना गर्न मिडियाहरूलाई ‘कोटबाइट’ दिए। मन्त्री राणाका प्रेस सल्लाहकार एकराज पाठकले राणाको उक्त भारत भ्रमण स्वास्थ्य उपचारमा मात्र केन्द्रित भएको जिकिर गरेका थिए। तर नेपालबाट युरोप जाने बेलासम्म पनि राणाको भारत भ्रमणको कार्यसूची थिए। एकाएक गइन्, कसैले भेट नदिएपछि उपचारका लागि मात्र भारत निस्केको भाष्य बनाउने उनको प्रयास सफल भने बनेन।
ओलीलाई भारतले निम्तो गरोस् भनेर मन्त्री बनेको एक वर्षमा नै आरजु तीन पटकसम्म भारत पुगेकी थिइन्।
गत वर्ष पुस ४ गते परराष्ट्र मन्त्रालयले नै प्रधानमन्त्री केपी ओली पुसभित्रै भारतको भ्रमणमा जाने बताएको थियो। त्यसका लागि परराष्ट्र मन्त्रालयले गृहकार्य अघि बढाएको जनाएको थियो। तर त्यसपछि यो कुरा फेरि रोकिएको थियो। प्रधानमन्त्री ओलीको भारत भ्रमण पुस २५ गतेतिर हुने सम्भावना रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
चीन भ्रमणमा जानुअघि नै प्रधानमन्त्री ओलीले भारत भ्रमणको तयारी गर्न परराष्ट्रमन्त्री राणालाई नै दिल्ली पठाएका थिए। तर भारतबाट जवाफ नआएपछि ओली चीनतिर लागेका थिए। मंसिर २० गते ओली चारदिने चीन भ्रमण सकेर काठमाडौं फर्किएका थिए।


