काठमाडौँ– नेपाली कांग्रेसका ७ जना नेताहरू पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा भेला भएका छन्। वर्तमान सरकारमा नेपाली कांग्रेसका तर्फबाट नेतृत्व पनि गरिरहेका सिंहको निवासमा उनीहरू भेला भएका हुन्। चाक्सीबारी छलफलमा सिंह, विमलेन्द्र निधि, शशांक कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशरण महत र विजयकुमार गच्छदार सहभागी थिए।
सिंह, निधि र कोइराला कांग्रेस संस्थापकहरूका छोराहरू हुन्। उनीहरू सिंह र निधि कांग्रेस सभापतिका लागि प्रतिस्पर्धा गरिसकेका नेताहरू हुन् भने कोइराला अब सभापतिका लागि प्रतिस्पर्धा गर्ने लाइनमा पुगेका छन्। यद्यपि यदाकदा यी तीन नेता आफूहरू सँधै एकैठाउँमा रहने पनि बताउँछन्।
देउवा दोस्रो पटक पनि सभापति भइसकेको र तेस्रो कार्यकालमा सभापतिको उम्मेदवार बन्न विधानले नै रोकेकाले अब देउवापछिको नेताका रूपमा श्रेष्ठलाई मानेर चाक्सीबारी छलफल भएको हो।
चाक्सीबारी बैठक विशेषगरी पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा केन्द्रित भएको थियो। विशेषगरी कांग्रेस नेता शेखर कोइरालाले पछिल्लो समय बढाउको सक्रियताका विषयमा छलफल भएको थियो।
कोइराला आफूलाई संस्थापन इतर पक्षको नेता भएको दाबी गर्छन्। निकट विगत महाधिवेशनको अंकगणितले पनि उनको उक्त दाबीलाई अस्वीकार गर्दैन। तर पछिल्लो समय कांग्रेस संस्थापन इतर पक्ष पनि तितरबितर छ। उता देउवा समूह भने देउवापछिको नेतृत्व कसले लिने भन्नेमा अलमलमा हुँदा कतिपय देउवा पक्षका नेताहरू संस्थापन इतर पक्षमा पुगेका छन्। बालकृष्ण खाँड र एनपी साउद देउवा क्याम्प छोडेर कोइराला कित्तामा पुगेका छन्।
चाक्सीबारी निकट स्रोतका अनुसार पछिल्लो समयका राजनीतिक गतिविधिका विषयमा कुराकानी भएको थियो। ‘पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा बैठकमा कुराकानी भए। नेताहरूबीच यस्ता कुराकानीहरू भइरहन्छन्,’ चाक्सीबारी स्रोतको भनाइ छ, ‘शेखर कोइरालाले पछिल्लो समय गरेका भेटघाटहरुका विषयमा पनि नेताहरू बसेपछि कुराकानी नहुने कुरा भन्ने भएन, भइहाल्छ। र यो सामान्य नै हो।’
यद्यपि शेखर कोइरालाका गतिविधि बढेपछि त्यसलाई काउन्टर दिन चाक्सीबारी बैठक बोलाइएको हो भन्ने जिज्ञासामा चाक्सीबारी स्रोतले अस्वीकार गरेको गरेको छ। कोइराला तत्कालै ओली सरकारलाई हटाएर कांग्रेस नेतृत्वमा त्यसमा पनि विशेष गरी आफ्नै नेतृत्वमा सरकार बनाउन सक्रिय छन्। यसका लागि उनले एमालेमा भर्खरै सक्रिय बनेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि छलफल गरिसकेका छन्। कोइरालाको सक्रियता बढेपछि कांग्रेस एमालेमा तरंग पैदा भएको थियो।
चाक्सीबारी भेलामा वर्तमान गठबन्धनको विकल्प नभएको निष्कर्ष निकालेको छ। यसअघि कांग्रेस सभापतिमा प्रतिस्पर्धा गरिसकेका तर दोस्रो चरणमा पुग्न नसकेपछि देउवा पक्षमा सक्रिय बनेका नेता/राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाका अनुसार चाक्सीबारी बैठकले वर्तमान गठबन्धनको विकल्प खोज्ने बेला नभएको निष्कर्ष निकालेको छ। बरु सरकार बनाउने बेला एमालेसँग भएको ७ बुँदे सहमति कार्यान्वयनमा जोड दिनुपर्ने निष्कर्ष निकालेको छ।दुई दलबीच संविधान संशोधनका लागि सहमति भएको तर काम अगाडि नबढेकाले त्यसलाई अघि बढाउन प्रधानमन्त्रीलाई आग्रह गरिने उनको भनाइ छ।
बैठकका यी निष्कर्ष मन्त्री सिंहले प्रधानमन्त्री केपी ओलीसम्म पुर्याउने उनको भनाइ छ। छलफलबारे भोलि नै पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर जानकारी गराउने पनि बनाए।
‘सरकारले गठबन्धनको भावनालाई कायम राख्नुपर्छ, यो गठबन्धन ०८४ को निर्वाचनसम्मै जान्छ। जाने गरी विश्वासको आधारमा काम गर्नुपर्छ,’ सिटौलाको भनाइ छ।
प्रचण्ड र कोइरालाको भेटमा सहभागी भएका कांग्रेसका पूर्वनेतासमेत रहेका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले ओली सरकारलाई ढालेर विद्या भण्डारी, शेखर कोइराला, प्रचण्ड र माधवकुमार नेपालबीच सहमति भइसकेको र यसका लागि प्रयास सुरु भइसकेको बताएका थिए।
चाक्सीबारीमा भेला भएका नेताहरूमा संस्थापन पक्षमै सक्रिय नेताहरू हुन्। शेखरले चलाएका गतिविधिहरूलाई ‘काउन्टर’ दिनका लागि सात भाइले प्रयास गरेका हुन्।
सात भाइले आन्तरिक छलफललाई निरन्तरता दिन फेरि पनि भेला हुन सकिने बताएका छन्। यसअघि पनि उनीहरूले विभिन्न नेताहरूको छलफलमा छलफलमा बस्दै आइरहेका छन्।
संस्थापन पक्षका यी नेताहरूले सभापति देउवाको उत्तराधिकारीमा आफूलाई खडा गर्न चाहन्छन्। तर, देउवाले अहिलेसम्म उत्तराधिकारी तोकेका छैनन्। यो भेटलाई कांग्रेसभित्र नेतृत्वमा वैकल्पिक ध्रुव निर्माण गर्ने संकेतको रूपमा समेत विश्लेषण गरिएको छ।


