काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा कम्युनिष्टहरुको मुख्य दोष रहेको बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित ४७ औं पुष्पलाल स्मृति दिवसका सन्दर्भमा वर्तमान राजनीति र कम्युनिष्ट आन्दोलन बिषयक कार्यक्रममा बोल्दै विप्लवले कम्युनिष्ट र त्यसमा पनि माओवादीका कारण नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण भएको बताएका छन्।
उनले कम्युनिष्टहरुले आफ्नो विचार, वर्ग, आदर्शलाई छोडेका कारण मुलुक लथालिङ्ग भएकाले अरुलाई दोष दिएर उम्कीने ठाँउ नरहेको धारणा राखे।
तत्कालीन अवस्थामा केपी ओली प्रधानमन्त्री हुँदा नेकपासंग गरेको तीनबुँदे सहमति अझै लागू नभएको भन्दै उक्त सहमति लागू गर्न माग गरे। उनले आफूहरू कम्युनिस्ट सिद्धान्तमा अघि बढेको भन्दै कुर्सीका लागि मरिहत्ते गर्ने पार्टी आफ्नो नभएको जिकिर गर्नुभयो।विप्लवले अव आफ्नो पार्टी निर्वाचनमा सहभागी हुने र आफुलाई जिताउन जनतालाई आह्वान गरिने स्पष्ट पारे।
नेकपा माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले अहिले राजनीतिक दलहरुको ध्यान देश र जनतामा भन्दा पनि गठबन्धन बनाउने र सरकार जोगाउनेमा केन्द्रीत रहेको जिकिर गरे।
दल नेताहरुकै कारण जनतामा निराशा बढ्दै गएको उहाले बताउनुभयो।शर्माले खुलेआम भ्रष्टाचार बढ्दै गएकाले आफुले नेताहरुको सम्पती छानविनका लागि पार्टीमा आवाज उठाएको बताए।
त्यस्तै नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अहिले कम्युनिस्ट आन्दोलनमा विरोधाभाष देखिएको बताए। मुलुकमा महत्वपूर्ण परिवर्तन ल्याउन सकिने भएपनि घुस नखाने राज्य व्यवस्था बनाउन नसक्नु दुर्भाग्य भएको उनले बताए।


