काठमाडौँ– बागमती प्रदेशका चार मन्त्रीले राजीनामा दिएका छन्। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई अविश्वासको प्रस्ताव ड्राफ्ट गरेर नेपाली कांग्रेसका चार मन्त्रीले राजीनामा दिएका हुन्।
मुख्यमन्त्री लामाले बजेटमा मनोमानी गरेको र योजना बेचेको आरोप लगाउँदै कांग्रेसकै मन्त्रीहरू उनीसँग रुष्ट भएका हुन्।
राजीनामा दिनेमा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ रहेका छन्।
राजीनामा दिनेमध्येका मदुकुमार श्रेष्ठले प्रदेशमा संसदीय दलको नेता परिवर्तन गर्न आफूहरूले राजीनामा दिएको बताए।
‘हामी मुख्यमन्त्री बहादुरसिंह लामाको विपक्षमा छौँ। इन्द्रबहादुर बानियाँलाई संसदीय दलको नेता बनाउन हामीले राजीनामा दिएका हौँ,’ उनले भने। एक वर्ष पुगेपछि सरकारमा हेरफेर गर्ने पहिलेकै सहमतिअनुसार आफूहरूले राजीनामा दिएको पनि उनले दाबी गरे।
२०७९ पुस १३ गते भएको निर्वाचनमा बानियाँलाई ५ मतले हराएर लामा संसदीय दलको नेतामा निर्वाचित भएका थिए। बागमतीमा कांग्रेस र एमालेका गठवन्धन सरकार छ। कांग्रेसका ३७ जना सांसद छन्।
उनीहरूले आफ्नै दलका मुख्यमन्त्री फेर्ने प्रयासस्वरूप मन्त्रीहरूलाई राजीनामा गराएको खुलेको हो।


