काठमाडौं। इरानको जेलमा रहेका ५ नेपाली स्वदेश फिर्ता भएका छन्। इरानको जेलमा रहेका ५ जना नेपाली नागरिकहरुलाई त्यहाँको अदालतले थुनामुक्त गर्ने आदेश दिएपछि स्वदेश फिर्ता भएका हुन्।
तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा उनीहरु बिहीबार काठमाडौं अवतरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस प्रक्रियामा सहयोग, सक्रियता तथा सदाशयता प्रदर्शन गर्ने भारत सरकार, इरान सरकारका सम्बन्धित निकाय तथा अधिकारीहरु, तेहरानस्थित नेपाली अवैतनिक बाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठनलाई नेपाल सरकारको तर्फबाट धन्यवाद दिएको छ।
इजरायल र इरानबीच गत १३ जुन २०२५ देखि शुरु भएको द्वन्द्व २३ जुन २०२५ मा दुबै पक्षबीच युद्धविराम भएपश्चात शान्तिसुरक्षाको स्थिति क्रमश सहज हुँदै गएकाले जनजीवन सामान्यतर्फ उन्मुख रहेको छ।
द्वन्द्वको अवधिमै नेपाल सरकारले भारत सरकारलाई गरेको अनुरोधलाई सम्मान गर्दै ‘अप्रेशन सिन्धु’ अन्तर्गत भारतीय नागरिकहरुलाई उद्धार गर्नगएको भारतीय विमान सेवाको उडानबाट विभिन्न मितिमा तीन लटमा गरी ९ जना नेपाली नागरिकहरुलाई यस अघि नै इरानबाट उद्धार गरी भारत हुँदै उनीहरु सबैजना स्थलमार्गबाट सकुशल आ-आफ्नो घर फिर्ता भइसकेका छन्।


