नुवाकोट- रसुवाको भोटेकोशी नदीमा गएराति फेरि अर्को बाढी आएको छ। भोटेकोशीमा जलसतह एक्कासि बढेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए।
केही पुल र क्याम्प पनि बगाएको जानकारी आएको छ। बाढी आउने बित्तिकै प्रहरी टोली परिचालन गरेर नदी तटीय क्षेत्रका स्थानीयवासीलाई सुरक्षित ठाउँमा सारिएको छ।
प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार मानवीय क्षति भएको अवस्था छैन। त्रिशूली नदी आसपासमा पनि सतर्कता अपनाउन अनुरोध गरिएको छ।
गएको असार २४ गते ल्हेन्दो खोलामा भेलबाढी आएको थियो। त्यतिबेला ल्हेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा सुप्राग्ल्यासियर ताल विस्फोट हुँदा भेलबाढी आएको प्रारम्भिक निष्कर्ष निकालिएको थियो।
केरूङ नाकाको मितेरी पुल बगाउनुका साथै भन्सार यार्डमा रहेका गाडीहरू पुरेको थियो। त्यस्तै स्याफ्रुबेशीदेखि केरूङसम्म पुग्ने बाटो कटान गरेको थियो। मर्मत गरिएको यो सडक अहिले फेरि विच्छेद भएको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानले ‘माइकिङ’ गरेर नदी आसपासमा भएका घरपरिवारका सदस्यलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।
बाढीले नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित ‘त्रिशूली–काठमाडौँ प्रसारण लाइन’को स्टेशनमा क्षति भएको छ।


