काठमाडौँ- नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेताको हैसियत गुमाइसकेका मुख्यमन्त्री बहादुरसिंह लामाले तीन जना मन्त्री थप गरेका छन्। कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान गर्ने कार्यतालिका सार्वजनिक भइसकेपछि मुख्यमन्त्री लामाले मन्त्री थप गरेका हुन्।
मुख्यमन्त्री बहादुरसिंह लामाले कांग्रेस सांसदहरू गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्तिका लागि सिफारिस गरेका हुन्। लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ। माया श्रेष्ठ र गीता गुरूङको जिम्मेवारी भने तोकिन बाँकी छ।
मुख्यमन्त्रीसमेत रहेका बहादुरसिंह लामाविरुद्ध कांग्रेस संसदीय दलले मंगलवार अविश्वासको प्रस्ताव पारित गरेको थियो। लामाविरुद्धको अविश्वासको प्रस्ताव पारित भएपछि नयाँ नेता चयनका लागि मतदान हुने भएको हो। कांग्रेसका ३७ मध्ये लामाविरुद्ध अविश्वासको प्रस्तावको पक्षमा २२ मत परेको थियो भने लामाको पक्षमा १५ मत मात्र परेको थियो। अविश्वास प्रस्ताव बहुमतले पारित भएपछि लामाले दलको नेताको हैसियत गुमाइसकेका छन्।
नयाँ नेता चयन गर्न कांग्रेस बागमती प्रदेशले मंगलबार नै निर्वाचन समिति गठन गरेको थियो। हरिशरण श्रेष्ठको संयोजकत्वमा गठित समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। निर्वाचन कार्यतालिका अनुसार दिउँसो २ देखि ३ बजेसम्म मतदान हुनेछ। मतदान संसदीय दलको कार्यालय परिसरमै हुनेछ। त्यसअघि बिहान ८ बजे मतदाता नामावली प्रकाशन, १० देखि ११ बजे उम्मेदवारी दर्ताको समय तोकिएको छ।
बहादुरसिंह लामाविरुद्ध अविश्वासको प्रस्ताव गर्ने सांसदहरुको तर्फबाट इन्द्रबहादुर बानियाँ उम्मेदवार हुनेछन्। लामाको पक्षबाट उनी आफैं हुने वा अरुलाई उठाउने भन्ने टुंगो छैन। अविश्वासको प्रस्ताव गर्ने सांसदहरूले बानियाँलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका छन्। तर, दलको नेता गुमाए पनि लामाले मुख्यमन्त्री नछोड्ने बताएका छन्।
बागमतीमा कांग्रेसले सम्हालेको ५ वटा मन्त्रालयमा मन्त्री रिक्त छन्। साउन ९ गते ४ जना र साउन १३ गते एक जना मन्त्रीले राजीनामा दिएपछि ५ मन्त्रालय खाली बनेका हुन्। पाँचै जना पूर्वमन्त्रीहरूले लामाविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन्। आन्तरिक मामिला तथा कानुन, युवा तथा खेलकुद, संस्कृति तथा पर्यटन, खानेपानी, ऊर्जा तथा सिंचाइ र सहकारी तथा गरिवी निवारण मन्त्रालय नेतृत्वविहीन छ।
मंगलबार संसदीय दलको अविश्वास प्रस्तावको पक्ष–विपक्षमा मतदान हुँदा मुख्यमन्त्रीसमेत रहेका दलका नेता लामाले १५ मत मात्रै पाएका थिए भने उनको विपक्ष २२ मत थियो। कांग्रेसको बागमती प्रदेश सभामा ३७ जना सांसद छन्।
संसदीय दलको निर्वाचनका लागि लामा र बानियाँ उम्मेदवार बनेका छन्। लामाले आफूले मुख्यमन्त्री पदबाट राजीनामा नदिने बरु अविश्वासको प्रस्ताव सामना गर्ने बताउँदै आएका छन्।
यस्तो छ लामाको पक्षविपक्षमा उभिनेहरूको सूची
लामाविरुद्ध अविश्वास प्रस्तावका पक्षमा उभिनेहरू
१.इन्द्रबहादुर बानियाँ
२.शिवराज अधिकारी
३.कञ्चनचन्द्र वादे
४.दिपेन्द्र श्रेष्ठ
५.पुकार महर्जन
६.बिनु रायमाझी पौडेल
७.यमुना देवी श्रेष्ठ
८.उर्मिला नेपाल केसी
९. शान्ता ढकाल
१०. प्रभात तमाङ
११. छिरीङ्ग दोर्जे लामा
१२. मीना पराजुली
१३. याङ्किला शेर्पा
१४. मीनकृष्ण महर्जन
१५. बिमल ठकुरी
१६. मदुकुमार श्रेष्ठ
१७. सुरजचन्द्र लामिछाने
१८. सुरेश श्रेष्ठ
१९. श्रीराम लामिछाने
२०. सुना परियार
२१. श्यामबहादुर खड्का
२२. कृष्णबहादुर तामाङ
लामाप्रति अविश्वास प्रस्तावको विपक्षमा उभिनेहरू
१. बहादुरसिंह लामा तामाङ
२. कुन्दनराज काफ्ले
३. उत्तम जोशी
४. लक्ष्मी श्रेष्ठ
५. रमेशकुमार महत
६. हरिप्रभा खड्गी
७. रामकुमार पहाडी
८. छेत्रबहादुर बम्जन
९. गीता गुरूङ
१०. मसिना खड्का
११. तीर्थ लामा
१२. रामकृष्ण चित्रकार
१३. माया श्रेष्ठ
१४. गोविन्द लम्साल
१५. समिता खड्गी


