काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको जीवन खीरजस्तै मिठासपूर्ण होस् भन्ने कामना व्यक्त गरेका छन्। साउन १५ को अवसरमा शुभकामना दिँदै उनले यस्तो शुभकामना दिएका हुन्।
‘आज साउन १५, खीर खाने परम्परागत पर्व। हाम्रा पूर्वजहरूले रोपाइँ सकेर साउन १५ को पर्व मनाउन सुरु गरेका थिए। पशुपालनको पुरानो संस्कृतिसँग यस पर्वको साइनो गाँसिएको छ,’ ओलीले फेसबुकमा लेखेका छन्।
खीर खाने पर्वले नेपाली समाजको संस्कृति, सौहार्दता र सामूहिकताको मिठास बोकेको ओलीको भनाइ छ।
‘सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस्,’ ओलीको शुभकामना सन्देशमा लेखिएको छ।


