काठमाडौँ- नेपालमा पर्यटन, वातावरण र जीवनशैलीमा नवीनतम नवप्रवर्तन ल्याउने उद्देश्यसहित नेपाल आइडिया फर वर्ल्डले अन्तर्राष्ट्रियस्तरको ‘डोम हाउस’ नेपालमा भित्र्याएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा बुधवार डोमहाउस लन्च कार्यक्रम सम्पन्न भएको हो।
स्काई टावर काठमाडौँमा आयोजित विशेष समारोहमार्फत डोमहाउसहित २५ प्रकृतिका नवीनतम प्रडक्टहरूका विषयमा जानकारी दिइएको थियो।
प्रमुख अतिथि रहेका मन्त्री पाण्डेले नवीनतम प्रविधिका सामग्री भित्र्याएर विश्वसँग नेपाललाई जोड्न आइडिया फर वर्ल्डले प्रयास गरेको भन्दै सह्राना गरे।
‘नेपालजस्तो पर्यटकीय गन्तव्यका लागि डोम हाउस निकै प्रभावकारी हुन सक्छ। निजी क्षेत्रलाई सरकारले प्रोत्साहन गर्छ र झन्झटिला कानुन संशोधन गरिनेछ,’ उनले भने।
‘यो शुभारम्भ केवल व्यावसायिक उपलब्धि होइन, नेपालले नवप्रवर्तन र दिगो जीवनशैलीतर्फ अग्रसर हुने संकेत पनि हो,’ नेपाल आइडिया फर वर्ल्डकी प्रमुख कार्यकारी अधिकृत उषा खतिवडाले भनिन्।
संस्थाका निर्देशक सन्तोष सुवेदीले ‘डोमहाउस परियोजनाले प्रभावका लागि नवप्रवर्तन, प्रगतिको लागि साझेदारी’ भन्ने मूल नारालाई आत्मसात गरेर अगाडि बढ्ने बताए। हरित प्रविधिमा आधारित, पर्यावरणमैत्री, स्वदेशी डिजाइन र निर्माणमा आधारित प्रवृत्तिलाई बढावा दिने उनको भनाइ छ।
कार्यक्रममा विभिन्न राजनीतिक, सामाजिक, पर्यटकीय क्षेत्रका अगुवाहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
डोमहाउस एक अत्याधुनिक, पारदर्शी र मोड्युलर संरचना हो। पर्यटन, स्वास्थ्य तथा वातावरणमैत्री जीवनशैलीसँग जोडेर यसको डिजाइन गरिएको हुन्छ।
यसमा रिसोर्ट, होमस्टे, रेस्टुरेन्ट, मिडिया स्टुडियो, निजी कार्यालय, वा विभिन्न कार्यक्रमका स्पेसको रूपमा प्रयोग गर्न सकिन्छ।
