काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई पतञ्जली जग्गा प्रकरणमा लागेको भ्रष्टाचार मुद्दाका कारण पदबाट मार्गप्रशस्त गर्न गरेको आग्रहलाई ‘बदलाको भावना’को रूपमा नबुझ्न सबैलाई आग्रह गरेका छन्।
उनले यस्तो टिप्पणी गर्ने नेताहरूको आलोचना गर्दै यसलाई ‘कच्चापन र बचपना’को संज्ञा दिए। न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेता खनालले आफ्नो प्रस्ताव अध्यक्ष नेपाललाई मुद्दाबाट मुक्ति दिलाउन र उहाँको पक्षलाई थप बलियो बनाउने उद्देश्यले आएको स्पष्ट पारे।
उनले भने, “माधव कमरेडलाई यत्रो ठूलो मुद्दा लागेको छ, १९ करोडको मुद्दा लागेको छ। उहाँलाई कसरी बचाउने होला भन्ने चिन्ताले नै मैले यो प्रस्ताव राखेको हुँ।”
यो मुद्दा २०६६ सालमा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेपलाञ्चोकको बनेपामा हदबन्दी छुटमा ५ सय ९३ रोपनी जग्गा खरिद गरी त्यसमध्ये ३ सय ५३ रोपनी १५ आना जग्गा काष्ठमण्डप हाउजिङ कम्पनीलाई बेचेको विषयसँग सम्बन्धित छ।
तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले मन्त्रिपरिषद्को निर्णयमार्फत पतञ्जलीलाई ८ सय १५ रोपनी जग्गा खरिद गर्न हदबन्दी छुट दिएको र दुई महिनाभित्रै उक्त जग्गा बेच्न पनि स्वीकृति दिएको आरोप लागेको छ।
यसलाई नीतिगत भ्रष्टाचार भन्दै अख्तियारले नेपालसहित ९३ जनाविरुद्ध जेठ २२ मा मुद्दा दायर गरेको थियो। मुद्दामा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो माग गरिएको छ र हाल नेपालको सांसद पद पनि निलम्बनमा छ।
खनालले केही नेताहरूले यो मुद्दा माधव नेपाललाई मात्र नभई सम्पूर्ण पार्टीलाई नै लागेको ‘राजनीतिक मुद्दा’ हो भनी गरिरहेको टिप्पणीको पनि खण्डन गरेका छन्।
“यस्तो बेतुकका, असैद्धान्तिक र अराजनीतिक कुराले माधव नेपाललाई झन् बढी समस्यामा पार्छ,” उनले भने। उनले विगतमा केपी शर्मा ओली, आरके कमरेड र घनेन्द्र कमरेडमाथि पनि मुद्दा लागेको र त्यसलाई राजनीतिक र कानुनी रूपमा लडेर परास्त गरिएको उदाहरण पनि दिए। यस विषयमा परिपक्वता देखाउनुपर्नेमा खनालले जोड दिएका छन्।


