इनरुवा- सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ र ६ को बीचमा पर्ने बालुवा चोकमा भएको सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ। सो
सोमबार बिहान पूर्व–पश्चिम लोकमार्गअन्तर्गत इनरुवा लौकही सडक खण्डमा काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे. १ ख. १७९९ नम्बरको बस र राजविराजबाट विराटनगर जाँदै गरेको प्र. २९० १९००१ ज. ००४७ नम्बरको माइक्रो एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाका अनुसार मृत्यु हुनेमा कोशी गाउँपालिका-६ का लक्ष्मण सदा र सप्तरीको महादेवा गाउँपालिका शङ्कर मण्डल रहेका छन्। मृतक थप एक जना पुरूष र एक महिलाको भने पहिचान खुलेको छैन।
प्रहरीका अनुसार मृत्यु हुने तीन पुरुष र एक महिला छन्, जसमध्ये ग्लोबल कार्डियो न्युरो अस्पताल भोक्राहामा तीन जना पुरुषको शव राखिएको छ भने जिल्ला अस्पतालमा एक महिलाको शव राखिएको छ।
दुर्घटनामा २८ भन्दा बढी घाइते छन्। घाइतेको सुनसरी र विराटनगरका विभिन्न स्थानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
विराटनगरको ग्लोबल कार्डियोमा १२ जनाको उपचार हुँदै छ। जसमध्ये ३ जना सघन उपचार कक्ष (आइसियू) र अन्य नौजना वार्डमा उपचाररत छन्। इनरूवा अस्पतालका अनुसार उपचारका लागि ल्याइएका ६ जनामध्ये ३ जनालाई गोल्डेन अस्पताल पठाइएको छ। त्यहाँ लगिएका सामान्य घाइते ३ जना डिस्चार्ज भएका छन्।
गोल्डेन अस्पताल विराटनगरमा १० जनाको उपचार भइरहेको छ।
माइक्रोका सहचालक राजविराज–४ का २१ वर्षीय सन्तोष बास्तोलाको विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको छ।


