काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कारागारमा पंखा र सञ्चार सुविधा दिइएको पाइएको छ। सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि रूपन्देही कारागारमा रहेका बेला उनलाई न्यूनतम सुविधाबाट बञ्चित गरिएको विषयमा विभिन्न समाचारहरु आएपछि राष्ट्रिय मानव अधिकार आयोगको टोलीले उनलाई राखिएको स्थानको निरीक्षण गरेको हो।
आयोगकी आयुक्त लिली थापाले लामिछाने बसेको कोठामा पुगेकी थिइन्। उनले लामिछानेसँग पनि कुराकानी भएको बताइन्। लामिछानेले उनीसँग आफूले बाहिर हिँडडुल गर्न नपाएको, पत्रपत्रिका पढ्न नपाएको लगायतका गुनासा गरेका थिए।
रवि लामिछानेलाई कारागारमा ४२० स्क्वायर फिटको छुट्टै कोठामा राखिएको छ। त्यो कोठामा अट्याच शौचालय भए पनि खुला रहेको उनले बताइन्। कोठाभित्र भुइँमा हरियो कार्पेट बिच्छाइएको, दुई वटा पंखा छ, एउटा खाट, एउटा टेबुल राखिएको उनको भनाइ छ। झ्यालमा प्लाइउड राखिएको र त्यसलाई झिक्न भनिएको उनको भनाइ छ।
कारागार प्रशासनले भने सुरक्षाका कारण लामिछानेलाई छुट्टै ब्लकमा राखिएको जनाएको छ। गर्मीका कारण कुलरको व्यवस्था गरिएको र घुमफिरका लागि चौर उपलब्ध रहेको प्रशासनको दाबी थियो। प्रशासनले लामिछानेलाई अन्य कैदीबन्दीसरह नै व्यवहार गरिएको र उनको इच्छाअनुसार नै भेटघाट र सञ्चार सुविधा दिइएको बताएको छ।
लामिछानेका समर्थक र पार्टीका नेताहरूले उनको अवस्था दयनीय रहेको दाबी गरेका छन्। लामिछाने आफैँले अदालतमा दिएको निवेदनमा आफूलाई यातनागृहमा राखिएको जिकिर गरेका छन्। आफूलाई ३५ फिट लामो र १२ फिट चौडा कोठामा राखिएको र यसलाई ‘अर्को रूपको गोलघर’को संज्ञा उनले दिएका छन्।
कारागारमा लामिछानेलाई फोन गर्ने सुविधा दिइएको छ। सञ्चार सुविधाका रूपमा दिइएको मोबाइल भने समयसमयमा खुल्ने र बन्द हुने प्रकृतिको छ। उक्त मोबाइलमा बाहिरबाट रिचार्ज गर्न मिल्दैन।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लामिछानेलाई भेटेपछि उनलाई साँघुरो कोठामा राखिएको र पत्रपत्रिका पढ्न समेत नदिइएको टिप्पणी गरेका थिए।
नयाँ पत्रिकाले एआईले तयार पारेको फोटोसहितको सामग्री छाप्दै लामिछानेलाई ‘कालकोठरी’मा राखिएको जिकिर गरेको थियो। उक्त समाचारलाई खण्डन गर्दै रुपन्देही कारागार प्रशासनले लामिछानेलाई सुरक्षाका कारण छुट्टै कोठामा राखिएको तर कुनै विभेद नगरिएको दाबी गरेको छ।
लामिछाने चैत २२ देखि भैरहवास्थित कारागारमा छन्।


