मलामीहरुलाई थाहा छैन–
म उनीहरुको गफ सुनिरहेको छु।
घाटसम्म पुग्ने बाटो साँघुरो छ
एक–एक गरेर हिँड्नुपर्थ्यो,
बाटो भिरालो छ– जोगिएर हिँड्नुपर्थ्यो,
बाटो चिप्लो छ– विस्तारै हिँड्नुपर्थ्यो,
एकै मिटर भए पनि
सेतो कपडा तेर्साएर हिँड्नुपर्थ्यो,
तर मलामीहरु हिँडिरहेका छन्–
कुनै मोर्चामा हिँडेझैँ।
बाटोमा पहिरो खसिरहन्छ–
अलि सुरक्षित भएर हिँड्नुपर्थ्यो,
कहीँकतै देउरालीहरु छन्–
दुबोका पातहरु चढाउनुपर्थ्यो,
बीचमा नदी पनि त छ–
तर्नलाई ढुंगाहरु बिछ्याउनुपर्थ्यो,
तर मलामीहरु हिँडिरहेका छन्–
कुनै आन्दोलनमा हिँडेझैँ।
सोचेको थिएँ, मृत्युपछि उनीहरुले
हृदयदेखि आ–आफ्नो स्नेह र प्रेम पोख्नेछन्,
कोमल भएर मेरा अतितहरु सम्झनेछन्,
नक्कली नै सही
भावुक भएर दुई थोपा आँशु खसाल्नेछन्,
गाउँभरी रोदनको विस्फोट हुनेछ,
मैले छाडेका पदचापहरुबारे वातचित गर्नेछन्,
तर मलामीहरु हिँडिरहेका छन्–
कुनै जुलुसमा हिँडेझैँ।
बरु मलामीहरुभन्दा त
चिन्तित देखिएका छन् पुतलीहरु
जसले हरेक साँझ म सँग बत्ति माग्थे,
बरु निभेका छन् जुनकिरीहरु
जसले मध्यरातमा मेरो पहिलो प्रेमपत्र देखेका थिए,
बरु रोइरहेका छन् चराहरु
जसले मेरो गितारको धुनमा पखेट्टा फट्कार्थे,
बरु शान्त छ बतास
जो मसँग बाजी लगाएर पहाडदेखि पहाड कुद्थ्यो,
तर मलामीहरु भने हिँडिरहेका छन्–
कुनै उत्सवमा हिँडेझैँ।
उनीहरुभन्दा बरु
डाँको छाडेर चिच्याइरहेको छ पधेरो
जसले मेरो तिर्खाको लामो पाण्डुलिपी पढेको थियो,
बरु गुराँसहरु उदास छन्,
जो मलाई बाँसुरी बजाउन कर गर्थे,
बरु ऐना पनि कुनामा लुकेर रोइरहेको छ
जो सधैँ मेरो मुस्कान हेरेर श्रृंगार गर्थ्यो,
तर मलामीहरु हिँडिरहेका छन्–
कुनै भव्य इमारतको उद्घाटनमा हिँडेझैँ।
निराश छन्
खोला किनारमा काठका टुक्रा बटुलिरहेका बालकहरु,
बरु स्तब्ध छन् चंगा उडाइरहेका नानीहरु,
निन्याउरो बनेका छन् जंगली फूलहरु,
सहानुभूति दिइरहेका छन् खोँचका निँगुरोहरु,
तर मलामीहरु हिँडिरहेका छन्,
कुनै हाटबजार हिँडेझैँ।
कमसेकम उनीहरुले
मेरा सन्तानबारे कुरा गर्नुपर्थ्यो,
मैले खेलाएको माटोबारे कुरा गर्नुपर्थ्यो,
मैले रोपेको पिपलबारे कुरा गर्नुपर्थ्यो,
वा मैले सुनाएको सपनाबारे कुरा गर्नुपर्थ्यो,
तर मलामीहरु हिँडिरहेका छन्
कुनै निमन्त्रणाको भोजमा हिँडेझैँ।
मलाई जुरुक्क उठेर भन्न मन छ,
काँधमाथिको कफनभित्र निदाएको मुर्दा मै हुँ।
तर मलामीहरुलाई थाहा छैन
म उनीहरुको गफ सुनिरहेको छु।


