काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी राजनीतिमा पुनः सक्रिय सहभागिता विषयमा तीव्र बहस सुरु भएको छ। गोदावरीस्थित सनराइज हलमा जारी महाधिवेशनमा दुई हजार १२६ प्रतिनिधिमध्ये उल्लेख्य संख्याले भण्डारीको सदस्यता नवीकरण गर्दै सक्रिय राजनीतिमा फर्कन पाउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएका छन्।
पार्टीले प्रतिवेदनमाथि छलफल गर्न प्रतिनिधिहरूलाई १० समूहमा विभाजन गरेको छ। अधिकांश समूहमा भण्डारीको पक्षमा सकारात्मक धारणा व्यक्त भएको छ। केही समूहमा संविधानको गरिमासँग बाझिने भन्दै विपक्षी मतसमेत देखिएको छ।
विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेश सम्भावित भएमा, पार्टीको वर्तमान नेतृत्व संरचना—विशेषतः केपी शर्मा ओली नेतृत्वमा भविष्यमा गुटगत सन्तुलन खलबलिन सक्छ। महाधिवेशनका धेरै प्रतिनिधिहरूले विद्यादेवी भण्डारीलाई पार्टीको नयाँ पुस्ता र महिला नेतृत्वको सशक्त प्रतिनिधिका रूपमा अगाडि ल्याउन सकिने संकेत दिएका छन्।
प्रदेशगत छलफलहरूमा प्रायः ठूला नेताहरू भण्डारीको पक्षमा देखिए पनि, केही शीर्ष नेताहरूले सङ्गठित रूपमा विपक्षमा धकेल्ने प्रयास गरे। लुम्बिनी प्रदेशमा महासचिव शङ्कर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलले प्रतिनिधिहरूलाई फोन गरेर भण्डारीको विपक्षमा धारणा बनाउन निर्देशन दिएका थिए।
गण्डकी प्रदेशका खगराज अधिकारीले पूर्व राष्ट्रपतिले राजनीतिमा फर्किन नपाउने गरी विधानमै व्यवस्था गरिनु पर्ने धारणा राखेका छन्। भण्डारीमात्र होइन, भविष्यमा अन्य राष्ट्रपतिहरूको समेत राजनीतिक स्वतन्त्रता सीमित गर्नुपर्ने उनको भनाइ थियो।
कोशी प्रदेश, सल्लाहकार समूह र केही अन्य प्रदेशमा धेरै प्रतिनिधिहरू मौन बसेका छन्।
भोलिसम्म चल्ने महाधिवेशनको अन्त्यमा, टोली नेताहरूले समूहगत निष्कर्ष प्रस्तुत गर्नेछन्। त्यसपछि, सचिव योगेश भट्टराई नेतृत्वको प्रस्ताव समितिले संशोधित प्रतिवेदन पेश गर्नेछ। सो प्रतिवेदनमार्फत, पार्टीले भण्डारीको भूमिकाबारे औपचारिक नीतिगत निर्णय लिने अपेक्षा गरिएको छ।
एमालेमा विचार, नेतृत्व र वैधानिक मर्यादाका तहमा गहिरो ध्रवीकरण ल्याएको छ। पार्टीको भावी नेतृत्व संरचना, महिला सहभागिता, र भूतपूर्व पदाधिकारीहरूको राजनीतिक भूमिका कस्तो हुने भन्ने सन्दर्भमा यो महाधिवेशन निर्णायक बन्ने संकेत देखिएको छ।
भण्डारीको पक्षमा को को खुले?
कोशी
कुल सहभागी : ३०० जना
धारणा राख्ने : ४८ जना
विद्याको पक्षमा : युवराज बाँस्कोटा, तारा राई
विपक्षमा : प्रेम गिरीलगायत प्रतिनिधिहरू, धेरैजसो मौन
मधेश
कुल सहभागी : २२ जना
भण्डारीको पक्षमा : अरविन्द सिंह, पुरुषोत्तम पौडेल
बागमती
कुल सहभागी: ८२ जना
भण्डारीको पक्षमा: अरुण नेपाल, सिता पौडेल, नारायण खतिवडा
विपक्षमा: रामेश्वर फुयाँल, मधुसूदन पौडेल
गण्डकी
पूर्व राष्ट्रपति राजनीतिमा आउन नहुने खगराज अधिकारीको प्रस्ताव
लुम्बिनी
विद्याको पक्षमा : शान्तराज ओली
विपक्षमा: महासचिव शङ्कर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल
सुदूरपश्चिम
कुल सहभागी : ४९ जना
पक्षमा : लक्ष्मण मरासनी बाहेक सबै
विभाग, आयोग, सल्लाहकार समूह
कुल सहभागी : १९२ जना
पक्ष–विपक्ष : लगभग समान


