काठमाडौँ: प्रस्तावित ७० मेगावाट क्षमताको दूधकोशी–२ अर्धजलासय जलविद्युत (पीआरओआर) आयोजनालाई लगानी जुटेको छ। लक्ष्मी सनराइज बैंकको अगुवाईमा एभरेष्ट बैंक र सानिमा बैंकले आयोजनामा साढे १० अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएको छन्।
बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीइओ) अजयविक्रम शाह र विकासकर्ता दूधकोशी हाइड्रोपावर नेपाल प्रालिका अध्यक्ष कदम केसीले ऋण सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। ऋण लगानी जुटेकाले अब आयोजनाको काम अघि बढ्ने भएको छ। आयोजना बनाउन नसकेपछि भारतीय कम्पनी आफ्नो स्वामित्व नेपालीलाई बिक्री गरेर आयोजनाबाट बाहिरिएको छ।
आयोजना निर्माणको प्रारम्भिक चरणमा छ। जसमा २०२५ को मध्य जुलाई सम्ममा २ प्रतिशत मात्र वित्तीय प्रगति हासिल भएको छ। आवश्यक व्यावसायिक सञ्चालन मिति आउँदो असारका लागि तोकिएको छ। गएको असारसम्म सामान्य भौतिक प्रगति हासिल भएको छ।
आयोजनाको कुल अनुमानित लागत १५ अर्ब रुपैयाँ रहेको छ। ७० प्रतिशत बैंकको ऋण र ३० प्रतिशत संस्थापकहरूको स्वपुँजी (इक्विटी) हुने गरी लगानी संरचना बनाइएको छ। जसअनुसार १० अर्ब ५० करोड रुपैयाँ बैंकको ऋण र बाँकी साढे चार अर्ब रुपैयाँ संस्थापकहरूको स्वपुँजी लगानी हुने दूधकोशीले जनाएको छ। काम सुरु गरेको चार वर्षमा सम्पन्न हुने कम्पनीका अध्यक्ष कदम केसीले जानकारी दिए।
भारतीय बाहिरिएपछि दूधकोशी–२ मा नेपाली लगानीकर्ताको प्रवेश, आयोजना बनाउन १५ अर्ब लाग्ने
परियोजनाको आवश्यक व्यावसायिक सञ्चालन मिति जुलाई ३०, २०२६ हो। समयमा आयोजना सम्पन्न नभएपछि कम्पनीले ठूलो जरिवाना तिर्नुपर्ने सम्भावना छ। नेपाल विद्युत प्राधिकरणसँग २०२१ नोभेम्बरमा आयोजनाबाट उत्पादन हुने बिजुली खरिदबिक्री सम्झौता (पीपीए) भएको थियो। वर्षायाममा (जुनदेखि नोभेम्बर) सम्म प्रतियुनिट ४.८० रुपैयाँ र सुक्खा मौसममा (डिसेम्बरदेखि मे) सम्म ८.४० रुपैयाँ रहेको छ।
पिकिङका लागि बेलुका ५ बजेदेखि १० बजेसम्म परिभाषित गरिएको छ। पिकिङको समयमा पीपीएदर ८.५० देखि १०.५५ रुपैयाँसम्म रहेको छ। सुक्खा मौसममा दैनिक ६ घण्टाको पिकिङको अधिकतम सीमा रहेको छ। वार्षिक ३ प्रतिशतका दरले ८ पटक बिजुलीको मूल्यवृद्धि हुनेछ।
आयोजनाबाट वार्षिक ४१ करोड ७४ लाख युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ। आयोजनाको प्रतिमेगावाट लागत २१ करोड ४३ लाख रुपैयाँ छ। आयोजनाको प्रतिफल १३.९७ प्रतिशत रहेको छ। इक्विटीमा प्रतिफल २१ प्रतिशत रहेको छ। आयोजनाले १२ वर्षमा ऋण चुक्ता गर्ने भएको छ। कम्पनीले बिजुली बेचेर औसत ५.९६ रुपैयाँ पाउने भएको छ।
परियोजनाबाट उत्पादित बिजुली १२ किलोमिटर लामो १३२ केभी प्रसारण लाइनमार्फत पहिले नै सञ्चालनमा रहेको विद्युत प्राधिकरणको टिङ्ला सबस्टेशनमा जोड्ने प्रस्ताव गरिएको छ। ३५ मेगावाट क्षमताका दुई टवाईन जडान हुने भएको कम्पनीले जनाएको छ।
दूधकोशी हाइड्रोपावर नेपाल प्राइभेट लिमिटेड सन् २०१३ अक्टुबरमा स्थापना भएको हो। आयोजनाको डिजाइन डिस्चार्ज ६२.३० प्रतिसकेन्ड रहेको छ। क्यू ४० मा आयोजना डिजाइन गरिएको छ । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा पर्ने दूधकोशी नदीमा विद्युत उत्पादनको लागि विद्युत विकास विभागबाट २०७७ असोजमा इजाजतपत्र (लाइसेन्स) पाएको थियो।
यसअघि आयोजना सोलुखुम्बुमा थुलुङ दूधकोशीमा बाँध बनाइ सुरुङमार्गबाट खोटाङको ऐसेलुखर्क गाउँपालिकाको जलेश्वरीमा विद्युतगृह निर्माण गरी २३० मेगावाट उत्पादन गर्ने अनुमानसहित प्रक्रिया अगाडि बढाइएको थियो।
यसअघि दूधकोशीको पानी करिब पाँच किलोमिटर सुरुङ मार्गमार्फत पुर्याउने योजना थियो। अहिले तीन किलोमिटर सुरुङमार्गमार्फत खन्याखर्कमा निर्माण हुने विद्युतगृहमा पुर्याइने भएको छ। जसकारण उत्पादन क्षमतासमेत २३० मेगावाटबाट घटेर ७० मेगावाटमा झरेको कम्पनीले जनाएको छ।
कम्पनीको नेतृत्व कदम केसीले गरेका छन्। यस्तै सञ्चालकहरुमा अभिज्ञा मल्ल, विक्रम गौतम, अरुण अग्रवाल, किरण मल्ल र श्री हिमाल भट्टराई रहेका छन्। प्रमुख संस्थागत लगानीकर्ताहरूमा आयु मालुन हाइड्रोपावर लिमिटेड, टिम भेन्चर, सारथी इक्विटी फन्ड रहेका छन्।


