काठमाडौं। अर्थमन्त्री रामेश्वर खनालसँग सोमबार राजदुत र दातृनिकायका प्रतिनिधिहरुले भेट गरेका छन् । अर्थमन्त्री खनालसँग नेपालका लागि अमेरिकाका राजदुत डिन आर थम्पसन, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का नेपाल मिसन प्रमुख जहन सरावत र एसियाली विकास बैंक(एडीबी) कन्ट्री डाइरेक्टर आर्नो कोस्वाले सोमबार भेटवार्ता गरेका हुन्।
राजदुत र दातृनिकायका प्रमुखले पछिल्लो समय नेपालमा विकसित राजनीतिक घटनाक्रम र अर्थतन्त्रका विषयमा चासो व्यक्त गरेको अर्थ मन्त्रालयले जनाएको छ।
अर्थमन्त्री खनाल र अमेरिकी राजदुत थम्पसनबीच नेपालको हालको परिवर्तित अवस्था र अमेरिकाले यस परिस्थितिमा नेपाललाई गर्न सक्ने सहयोगका विषयमा छलफल भएको छ।
उक्त छलफलमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थतिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने, पुनर्निर्माण योजना र सहुलियत प्याकेजको माध्यमवाट निजी क्षेत्रको मनोवल माथि उठाउनु रहेको जानकारी गराएका छन्। अमेरिकी राजदुतले बदलिँदो परिस्थितिमा अमेरिका नेपालको साथमा रहेको जानकारी गराएका छन् ।
अमेरिकी राजदुतले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को सहयोगमा सञ्चालित एमसीए नेपालबाट कार्यान्वयन भइरहेका परियोजनाहरु समयमै सम्पन्न गर्ने कार्यमा सरकारको थप प्रतिवद्धता खोजेका छन्। अर्थमन्त्री खनालले उक्त परियोजनाहरुको सफल कार्यान्वयनका लागि सरकारको तर्फबाट गर्नुपर्ने कार्यहरूमा ढिलाई नहुने विश्वास दिलाएका थिए।
यसैगरी अर्थमन्त्री खनालले आईएमएफको सुझावमा कार्यान्वयनमा रहेका आर्थिक सुधारका कार्यक्रमलाई थप तीव्रता दिने बताएका छन्। कोषको सहयोगमा कार्यान्वयन भैरहेको विस्तारित कर्जा सुविधा (एक्सटेन्डेड क्रेडिट फ्यासिलिटी) को अवस्था समीक्षा गरी यसको छैटौं प्रतिवेदन छिट्टै कोषको बोर्ड बैठकमा पेश गर्ने विषयमा छलफल भएको अर्थ मन्त्रालयका प्रवत्ता तथा सहसचिव टंकप्रसाद पाण्डेले बताए।
कोषका नेपाल मिसन प्रमुख जहन सरावतबीच सोमबार भएको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री खनालले आर्थिक सुधारलाई थप तीव्रता दिने विषयमा छलफल भएको छ। बैठकमा मिशन प्रमुख सरावतले हालै नेपालमा विकसित राजनीतिक घटनाक्रमले अर्थतन्त्रमा पार्नसक्ने प्रभाव र आर्थिक सुधारका कार्यक्रमहरुको निरन्तरताका विषयमा अर्थमन्त्री खनालसँग छलफल गरेको उनले प्रवत्ता पाण्डेले जानकारी दिए।
उक्त छलफलमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थतिमा गठन भएको सरकारको मुख्य कार्य जिम्मेवारी तोकिएको समयमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नु रहेको र हालै जेन्जी युवाहरुको नेतृत्वमा भएको प्रदर्शनका क्रममा व्यक्त भएको सुशासन र स्वदेशमा नै रोजगारी सिर्जना गर्ने विषयमा सरकार कटिबद्ध रहेको जानकारी गराएका छन्।
कोषका मिशन प्रमुख जहानले नेपालमा आर्थिक सुधारका कार्यक्रममा नयाँ सरकारसँग मिलेर काम गर्न तयार रहेको जानकारी गराएका छन्।
अर्थमन्त्री खनाल र एडीबीका कन्ट्री डाईरेक्टर आर्नो कोस्वाबीच सोमबार नै अर्थ मन्त्रालयमा शिष्टाचार भेट सम्पन्न भएको छ। उक्त बैठकमा निर्देशक कोस्वाले नेपालमा विकसित राजनीतिक घटनाक्रमले अर्थतन्त्रमा पार्नसक्ने प्रभाव र एडीबीको सहयोगमा सञ्चालित कार्यक्रमहरुको निरन्तरताका विषयमा अर्थमन्त्रीसँग छलफल गरेका थिए।
छलफलका क्रममा अर्थमन्त्री खनालले वर्तमान सरकारकोको मुख्य कार्यदेश निर्वाचन भए पनि परिवर्तित समयमा युवाहरुको चाहनाबमोजिम सुशासन र स्वदेशमा नै रोजगारी सिर्जना गर्ने विषयमा सरकार कटिबद्ध रहेको जानकारी गराएका थिए।
एडीबीका कन्ट्री डाइरेक्टर कोस्वाले नेपालमा आर्थिक विकासका क्षेत्रमा वर्तमान सरकारसँग मिलेर वैदेशिक सहायता काम गर्न तयार रहेको जानकारी गराएका छन्।


