काठमाडौँ: शिवम् होल्डिङ्ग्स लिमिटेडले आफ्नो गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई ११ करोड ६० लाख रुपैयाँ नगद लाभांश बाँड्ने निर्णय गरेको छ। गत भदौ २२ गते बसेको कम्पनीको सञ्चालक समितिको ३७ औं बैठकले असोज ३१ गते कम्पनीको रजिष्टर्ड कार्यालयको सभाहल अनामनगरमा चौथो वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ।
सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभाबाट कम्पनीले कुल चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँको २.५ प्रतिशत दरले हुन आउने उक्त रकम नगद लाभांश वितरण गर्ने निर्णय पारित गर्ने निर्णय गरेको हो।
यस्तै साधारणसभाका अन्य प्रस्ताव र छलफलका विषयहरूमा गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखा परीक्षकले पेस गरेको प्रतिवेदन, वासलात, नाफानोक्सान हिसाबकिताब, नगद प्रवाह विवरणसहितका संलग्न अनुसूचीमाथि छलफल गर्ने, आगामी आवका लागि लेखा परीक्षक नियुक्त गर्नेलगायत रहेका छन्।


