काठमाडौं । आदर मल्टिइन्भेष्टमेन्ट कम्पनी लिमिटेडको हकप्रद सेयर बिक्री नभएपछि लिलामीमा राखिएको छ। कम्पनीले राजधानीको बल्खुमा ठूलो लगानीमा आदर ट्रेड मल निर्माण गरिरहेको छ।
कम्पनीले मलको काम सक्न थप लगानी जुटाउन गत साउन २३ मा हकप्रद सेयर निष्कासन गरेको थियो।
निष्कासन गरिएको मध्ये १० लाख ६२ हजार नौ सय कित्ता सेयर बिक्री नभएपछि कम्पनीले लिलामीमा राखेको हो। हकप्रदको न्यूनतम् मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ।हकप्रद सेयर खरिदको अन्तिम दिन आउँदो कात्तिक ११ गतेलाई तोकिएको छ।
महाबौद्धका ५१९ व्यापारीहरुको ठूलो लगानीमा वृहत आदर ट्रेड मल सञ्चालन हुन लागेको छ।व्यापारीहरुले भवन बनाउन सुरु भएको लामो समय भइसकेको छ। तर, अझै पुरा भएको छैन्। समय लम्बिँदै जाँदा परियोजना लागत पनि बढ्दै गएको छ।
आदार ट्रेड मलको अहिलेसम्म ६३ प्रतिशत वित्तीय प्रगति भएको निर्माता कम्पनी आदार मल्टिइन्भेष्टमेन्टलले जनाएको छ। ट्रेडमलको लागत १६ प्रतिशत बढेर नौ अर्ब ३० करोड रुपैयाँ पुगेको छ। यसअघि आठ अर्ब रुपैयाँमा मल सम्पन्न गर्ने लक्ष्य थियो।
लागत बढे पनि परियोजनाको आकारमा कटौती गरिएको छ। मूल योजनाअनुसार बिक्रीयोग्य क्षेत्रफल चार लाख २९ हजार ४८० वर्गफुटबाट घटेर तीन लाख ३२ ९४९ वर्गफुट तय गरिएको छ।
क्षेत्रफल घटे पनि अनुमानित परियोजना लागत १६ प्रतिशत बढेर ९ अर्ब ३० करोड रुपैयाँ पुगेको रेटिङका लागि सार्वजनिक गरिएको विवरणमा उल्लेख छ।
पहिला २१ सय पसलको पूर्वाधार बनाउने लक्ष्य लिएकोमा पछि घटाइएर दुई हजार ५९ मा झारिएको छ। निर्माणाधीन मलमा ८ तल्लाका ११ वटा भवन निर्माण भइरहेको छ। निर्माणाधीन ट्रेड मललाई महाबौद्ध क्षेत्रको विकल्को रूपमा हेरिएको छ।
भवन संरचना लगभग पूरा भए पनि धेरैजसो फिनिसिङको काम बाँकी छ। बुकिङ कम भएपछि फिनिसिङको काम रोकिएको छ।
मलको काम सन् २०२३ अन्तिममा सक्ने लक्ष्य भए पनि ढिलाइ हुन गएपछि यो वर्ष सम्पन्न गर्ने मिति तय गरिएको थियो। यो वर्ष पनि पुरा नहुने भएको छ। निर्माण सकिएका भवनमा महाबौद्धको बजार लगिने छ। बाँकी भवन बनिसकेपछि मात्रै महाबौद्धबाट सबै व्यापारीलाई त्यता सार्ने योजना छ।
सवा नौ अर्बमा राजधानीको बल्खुमा आदर ट्रेड मल बनाउँदै महाबौद्धका ५१९ व्यापारी
‘क्राउड फन्डिङ मोडल’बाट सपिङ मल निर्माण गर्न लागिएको हो। कम्पनीले दुई अर्ब ८१ करोड ९० लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ ।
कम्पनी प्राथमिक सेयर (आइपीओ) निष्कासन गरेर थप लगानी जुटाउने लक्ष्य लिएको छ। आईपीओ जारी गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रवन्धक नियुक्त गरेको छ।
कम्पनीले आईपीओ निष्कासन प्रस्ताव पारित गरिसकेको छ। आदार मल्टिइन्भेष्टमेन्ट सन् २०१७ मा स्थापना भएको हो।
