काठमाडौं। दुई वित्त कम्पनी एक आपसमा गाभिने (मर्ज) मा जाने भएका छन्। पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स लिमिटेड मर्जमा जाने भएका हुन्। दुबै फाइनान्सलाई नियामक नेपाल राष्ट्र बैंकले मर्ज प्रक्रिया अघि बढाउन सर्तसहित आशयपत्र (एलओआई) दिएको छ।
राष्ट्र बैंकले दुबै फाइनान्सलाई तीन महिनाभित्र विशेष साधारणसभाबाट विशेष प्रस्ताव पारित गर्नुका साथै आवश्यक सबै प्रक्रिया पुरा गरी अन्तिम स्वीकृति दिने भनेको पोखरा फाइनान्सले जनाएको छ।
दुबै फाइनान्सको वित्तीय अवस्था नाजुक भएपछि विकल्पको रुपमा मर्जमा जान लागेका हुन्। मर्जमा गएपछि फाइनान्सको वित्तीय स्वास्थ्यमा सुधार आउने अपेक्षा गरिएको छ।
यसअघि गत साउनको पहिलो साता दुई संस्था मर्जमा जाने विषयमा प्रारम्भिक सम्झौता भएको थियो।
दुई फाइनान्स समान हैसियतमा मर्ज भएमा चुक्तापुँजी बढेर एक अर्ब ९० करोड १४ लाख रुपैयाँ पुग्नेछ। हाल पोखरा फाइनान्सको चुक्तापुँजी एक अर्ब आठ करोड २५ लाख रुपैयाँ छ। समृद्धिको ८१ करोड ८९ लाख रुपैयाँ छ।
राष्ट्र बैंकले फाइनान्स कम्पनीको न्यूनतम चुक्ता पुँजी ८० करोड रुपैयाँ तोकेको छ।
गत आर्थिक वर्षको तेस्रो त्रैमासमा पोखरा फाइनान्सले सात करोड १९ लाख रुपैयाँ खुदनाफा गरेको छ। फोखरा फाइनान्सको सञ्चित कोष (रिजर्भ) आकार एक अर्ब आठ करोड रुपैयाँ छ भने उसको प्रतिसेयर आम्दानी ८.८७ रुपैयाँ ऋणात्मक छ। प्रतिसेयर नेटवर्थ ४८.७५ रुपैयाँ रहेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।
समृद्धि तीन करोड ५७ लाख रुपैयाँ नोक्सानमा छ। समृद्धिको रिजर्भ २५ करोड ५४ लाख रुपैयाँ रहेको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ। पोखराको तुलनामा समृद्धिको वित्तीय अवस्था कमजोर देखिएको छ।
समृद्धिको प्रतिसेयर आम्दानी ४.३६ रुपैयाँ ऋणात्मक छ। उसको प्रतिसेयर नेटवर्थ ५३ रुपैयाँ रहेको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।
