काठमाडौं। गरिमा विकास बैंकले सेयरधनीहरुलाई १०.५२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। बैंकको सोमबार बसेको सञ्चालक समितिको ३३४ औं बैठकले ६ प्रतिशत बोनस सेयर र ४.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
बैंकले गत आर्थिक वर्षमा गरेको सञ्चित नाफाबाट बोनस सेयर र नगद गरी ५९ करोड ८१ लाख रुपैयाँ लाभांश दिन प्रस्ताव गरेको छ।बैंकले ३४ करोड आठ लाख रुपैयाँ बोनस सेयर र २५ करोड ७३ लाख रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो।
बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि १९ औं वार्षिक साधारणसभामा पेश हुनेछ । साधारणसभाबाट पारित भएपछि लाभांश वितरण गर्ने बैंकले जनाएको छ।
बैंकको चुक्ता पुँजी पाँच अर्ब ६८ करोड रुपैयाँ छ। गत आर्थिक वर्षमा बैंकले एक अर्ब ३१ करोड रुपैयाँ खुदनाफा गरेको थियो। बैंकको लाभांश दिने क्षमता १२.५९ प्रतिशत रहेको छ।
बैंकले कूल ७१ करोड ४९ लाख रुपैयाँ नाफा बाँड्ने क्षमता रहेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।


