काठमाडौं। निक्षेप परिचालनको तुलनामा कर्जा लगानी हुन सकेको छैन्। कर्जा विस्तार नहुँदा बैंकमा अधिक तरला (लगानीयोग्य पुँजी) थुप्रिएको छ। बैंकिङ प्रणालीमा रहेको अधिक तरलता र न्यून ब्याजदरबाट अर्थतन्त्रले लाभ लिन सक्ने अवस्था भएपछि अहिलेसम्म त्यस्तो देखिएको छैन्।
नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ०.९ प्रतिशत मात्र बढेको छ। गत भदौसम्म ४९ अर्ब २४ करोड मात्र कर्जा लगानी बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १.४ प्रतिशत विस्तार भई ७३ अर्ब ३९ करोड रुपैयाँ पुगेको थियो।
चालू आर्थिक वर्षमा राष्ट्र बैंकले १२ प्रतिशत कर्जा लगानी बढ्ने अनुमान गरेको छ। केन्द्रीय बैंकको अनुमानलाई आधार मान्दा यो वर्ष सात खर्ब रुपैयाँ थप कर्जा लगानी हुनुपर्ने हुन्छ। दुई महिनाको अवस्था हेर्दा लक्ष्य पुरा हुने देख्दिैन्। गत वर्ष पनि साढे १२ प्रतिशत कर्जा विस्तारको लक्ष्य लिएकोमा पछि ८.४ प्रतिशत मात्र विस्तार भएको थियो।
यता कर्जा नबढ्दा बैंकिङ प्रणालीमा सात खर्ब रुपैयाँ बढी लगानीयोग्य पुँजी रहेको छ। कर्जा विस्तार नभएपछि बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याजदर निरन्तर घटाइरहेका छन्। राष्ट्र बैंकका अनुसार २०८२ भदौमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ७.६६ प्रतिशत छ।
बैंकहरुको ऋण लगानी खुम्चियो, दुई महिनामा ४९ अर्ब २४ करोड मात्र
कर्जाको ब्याजदर एकल अंकमा आउँदा पनि किन बढ्न सकेन भन्ने प्रश्न उठेको छ। लगानीकर्ताको विश्वास नबढेका बेला जेनजी आन्दोलनले ठूलो क्षति गरेपछि अहिले लगानीकर्ता खुलेर लगानी गर्ने अवस्थामा छैनन्। त्यसैले कर्जा विस्तारलाई अवरोध गर्ने देखिएको छ।
यस्तै विकास बैंकहरूको ८.९५ र वित्त कम्पनीहरूको १०.१९ प्रतिशत रहेको छ। २०८१ भदौमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ९.५२, विकास बैंकहरूको १०.८९ र वित्त कम्पनीहरूको १२.१४ प्रतिशत थियो।
आधारदर (बेसरेट) घटेपछि ब्याजदर पनि कम हुँदै गएको हो। गत भदौमा वाणिज्य बैंकहरूको औसत आधार दर ५.७२ प्रतिशत रहेको छ। यस्तै विकास बैंकहरूको ८.०९ र वित्त कम्पनीहरूको ८.७७ प्रतिशतछ।
२०८१ भदौमा वाणिज्य बैंकहरूको औसत आधार दर ७.४९, विकास बैंकहरूको ९.१५ र वित्त कम्पनीहरूको १०.६५ प्रतिशत रहेको थियो। आधार दर निर्धारणसम्बन्धी कार्यविधि २०६९ ले कोष लागत(निक्षेप लागत), अनिवार्य मौज्दात लागत (सीआरआर), वैधानिक तरलता लागत(एसएलआर),सञ्चालन लागत जोडेर कूल आधार दर निर्धारण विधि अपनाएको छ।
कर्जाको ब्याजदर घटेपछि निक्षेपको पनि तल्लो स्तरमा पुगेको छ। गत भदौमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याज दर ३.९६ प्रतिशतमा सीमिति भएको छ। विकास बैंकहरूको ४.५८ र वित्त कम्पनीहरूको ५.७३ प्रतिशत रहेको छ।
२०८१ भदौमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ५.५३, विकास बैंकहरूको ६.३१ र वित्त कम्पनीहरूको ७.५५ प्रतिशत कायम भएको थियो।
यस्तै ९१ दिने ट्रेजरी बिल्सको भारित औसत ब्याज दर पनि घटेर २.१३ प्रतिशतमा सीमित भएको छ। २०८१ भदौमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर २.८९ प्रतिशत थियो।
यस्तै बैंक तथा वित्तीय संस्थाहरूबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०८१ भदौमा ३ प्रतिशत रहेकोमा २०८२ भदौमा घटेर २.७५ प्रतिशत रहेको छ।
