काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले कर्जाको सावाँ ब्याज भुक्तानी समय सीमा थप गर्न नेपाल राष्ट्र बैंकसँग आग्रह गरको छ।महासंघका कार्यवहाक अध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा बुधबार राष्ट्र बैंक गएको महासंघको टोलीले कार्यबाहक गभर्नर डा.निलम ढुङ्गाना तिम्सिनालाई भेटेर सो आग्रह गरेको हो।
महासंघले चालू आर्थिक वर्षको प्रथम त्रैमास (असोज–मसान्त) मा कर्जाको सावाँ ब्याजको किस्ता बुझाउने समय नजिकिंदै गर्दा देशका विभिन्न भागहरुमा भएका आन्दोलन, विरोध प्रदर्शन, तोडफोडका घटनालगायत अविरल वर्षा तथा बाढी पहिरोले देशको पूर्वी एवं मध्य भागमा क्षति पुगेको छ।
क्षतिले ऋणिहरुलाई समयमै किस्ता बुझाउन समस्या भएकोले साँवा तथा ब्याज भुक्तानीको समय सीमा थप गर्न राष्ट्र बैंकसँग आग्रह गरिएको महासंघका कार्यवाहक अध्यक्ष श्रेष्ठले जानकारी दिए।
उनले यो समयमा भएका यी घटना बाहेक दसैंका कारण लामो समय सार्वजनिक विदा पर्न गएको र ऋणीहरुलाई समयमै किस्ता बुझाउन समस्या भएकोले समय थपको लागि पहल गरिदिन महासंघका सदस्य संघ संस्थाहरुबाटसमेत अनुरोध भै आएकोले राष्ट्र बैक समक्ष सो आग्रह गरिएको बताए।
सो अवसरमा राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र तथा महासंका उपाध्यक्षद्वय सुरकृष्ण वैद्य, हेमराज ढकाल र कोषाध्यक्ष भरतराज आचार्य सहभागी थिए ।


