काठमाडौँ: बीमा कम्पनीहरुले झण्डै दुई अर्ब रुपैयाँबराबरको दाबी भुक्तानी गरेका छन्। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका भएको तोडफोड र आगजनीमा परेको दाबीमा बीमा कम्पनीहरुले हालसम्म एक अर्ब ९५ करोड ४७ लाख रुपैयाँ भुक्तानी गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ।
सम्पत्तिको क्षति भएपछि २३ अर्ब १९ करोड ३६ लाख रुपैयाँबराबरको दाबी परेको छ।हालसम्म विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरुमा कूल ३१ सय ६३ वटा दाबी परेको प्राधिकरणले जनाएको छ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले सबैभन्दा बढी दाबी भुक्तानी गरेको छ। सिद्धार्थ प्रिमियरले ७८ करोड आठ लाख रुपैयाँ दाबी भुक्तानी गरेको प्राधिकरणले जानकारी दिएको छ।
यस्तै शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ४२ करोड २७ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले २४ करोड ५३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको गरेका छन्।
सबैभन्दा बढी सम्पत्ति बीमा दाबी भुक्तानी भएको छ। प्राधिकरणका अनुसार एक अर्ब ५५ करोड १७ लाख रुपैयाँ दाबी भुक्तानी भएको छ। यस्तै मोटर बीमाको ३६ करोड २५ लाख र इन्जिनियरिङ र ठेक्काको तीन करोड ८१ लाख रुपैयाँ भुक्तानी भएको छ।
सम्पत्ति बीमामा सबैभन्दा बढी १९ अर्ब रुपैयाँ दाबी परेको छ।


