काठमाडौं। विद्युत् विकास विभागले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १० वटा जलविद्युत् आयोजनालाई निर्माण अनुमति (लाइसेन्स) दिएको छ। लाइसेन्स दिएको आयोजनाको कूल क्षमता २४१ मेगावाट बराबर रहेको छ।
विभागले हालसम्म दुई सय ६६ आयोजनालाई निर्माण अनुमतिपत्र प्रदान गरेको छ। ती आयोजनाको कूल क्षमता १० हजार आठ सय २५ मेगावाट रहेको विभागले उपलब्ध गराएको विवरणमा उल्लेख ।
विभागले गत असोज मसान्तसम्ममा लापा खोला (४.७२ मेगावाट), लोअर बरुण (१३२ मेगावाट), म्याग्दी खोला बी (१२(५० मेगावाट) र (तल्लो लिखु क्यासकेड ६ मेगावाट) लाई निर्माण अनुमतिपत्र प्रदान गरेको हो।
यसैगरी माथिल्लो मेलम्ची (४.९५ मेगावाट०, सुपर सभा खोला (९.५५ मेगावाट), लोअर मेलम्ची खोला (४.९६ मेगावाट), अप्पर सेती एक (१३ मेगावाट), होङ्गु खोला (२८.९० मेगावाट) र इन्दुवा खोला (२४.९२ मेगावाट) बनाउनलाई निजी कम्पनीहरुलाई निर्माण अनुमतिपत्र प्रदान गरेको विभागले जनाएको छ।
विभागले हालसम्म कूल १८५ आयोजनालाई सर्वेक्षणको अनुमति दिएको छ। विभागका कूल ५९ वटा परियोजनाले निर्माण अनुमतिपत्रका लागि आवेदन दिएका छन्। ती आयोजनाको कूल क्षमता १० हजार पाँच सय ३२ मेगावाट छ।
सौर्य परियोजनातर्फ १२ आयोजनाले निर्माण अनुमतिपत्र लिएका छन्। ती आयोजनाको क्षमता ८४ मेगावाट छ। तीन वटा सौर्य परियोजनाले निर्माण अनुमतिपत्रका लागि आवेदन दिएका छन्।
ती आयोजनाको क्षमता १५ मेगावाट छ। निर्माण अनुमतिपत्र लिएपनि काम अगाडि नबढाएका १५ आयोजनाको अनुमतिपत्र खारेज गरिएको विभागले जनाएको छ।
यसैबीचमा निर्माण अनुमतिपत्रका लागि आवेदन दिएका र आवश्यक प्रक्रिया पूरा नगरेका ११ आयोजनाको पनि आवेदन खारेज गरिएको छ। त्यस्तै, एक सय १८ वटा आयोजनाको सर्वेक्षण अनुमतिपत्र खारेज गरिएको छ।
