काठमाडौँ: पछिल्लो समयमा मुलुकका ठूला सहर र पर्यटकीय गन्तव्यहरुमा तारे होटल खुल्ने क्रम बढेको छ। व्यवसायीका साथै बैंक तथा वित्तीय संस्थाहरुले होटल व्यवसायमा ठूलो लगानी गरेका छन्।
यस्तै नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन तथा हवाइ यातायात समितिका अध्यक्ष देशबन्धु बस्नेतले होटलमा लगानी बढाइरकेका छन्। उनले एक वर्षअघि राजधानीको सुकेधारमा पाँचतारे मक्र्यु होटल सञ्चालनमा ल्याइसकेका छन्।
उनले सुनसरीको इटहरीमा एक अर्ब ६० करोड रुपैयाँ लगानीमा दोस्रो पाँचतारे ग्रान्ड सेन्ट्रल होटल लिमिटेड सञ्चालनमा ल्याउन लागेका छन्। गत अगस्टसम्म होटलले ९० प्रतिशत भन्दा बढी वित्तीय प्रगति हासिल गरिसकेको छ। ऋण अंश पनि सम्झौता भइसकेको छ।
होटलमा २५ प्रतिशत संस्थापकको स्वपुँजी (इक्विटी) र ७५ प्रतिशत बैंकको ऋण हुने गरी लगानी संरचना बनाइएको छ। बैंकको ऋण एक अर्ब १३ करोड ३० लाख रुपैयाँ छ। बाँकी रकम स्वपुँजीबाट जुटाइएको छ।
यसअघि होटल एक अर्ब सात करोड रुपैयाँ लाग्ने अनुमान गरिएको थियो। होटलको डिजाइनमा भएको परिवर्तन र समय लम्बिएपछि लागत थपिन गएको हो।
आगामी सन् २०२७ को सुरुमा होटल पूर्ण क्षमतामा सञ्चालनमा आउने भएको छ। २०२६ को मध्यमा सफ्ट लञ्च गर्ने तयारी होटलको छ। होटल ग्राण्डमा ८० कोठाहरु हुनेछन्।
होटलको व्यवस्थापन विन्डहम होटल एशिया प्यासिफिक कम्पनी लिमिटेडले गर्ने भएको छ। ‘रमादा बाइ विन्डहम इटहरी पशुपति मार्ग’ ब्रान्डमा होटल सञ्चालन हुने भएको छ। विन्डहम होटल एशिया प्यासिफिकसँग ग्रान्डले इजाजतपत्र (लाइसेन्स) सम्झौता गरेको छ।
विन्डह्याम विश्वको सबैभन्दा ठूलो होटल फ्रान्चाइजिङ समूहहरू मध्ये एक हो। जसले ९० भन्दा बढी देशहरूमा ९ हजार भन्दा बढी होटलहरूको पोर्टफोलियो व्यवस्थापन गर्दछ।
यो रणनीतिक साझेदारीले परियोजनाको ब्रान्ड मूल्यलाई उल्लेखनीय रूपमा विस्तार गर्ने अपेक्षा गरिएको छ। जसले गर्दा यसको समग्र प्रदर्शन र बजार स्थितिमा वृद्धि हुने अपेक्षा गरिएको छ।
होटलले भारतीय पर्यटकलाई लक्षित गर्ने भएको छ। नेपाल–भारत सीमाको नजिक लगभग ३० किलोमिटर दुरीमा अवस्थित होटलको रणनीतिक स्थानले भारतबाट पर्यटकहरूको आकर्षणलाई सहयोग गर्ने अपेक्षा गरिएको छ।
विशेष गरी मनोरञ्जन र विवाह कार्यक्रमका साथै होटलले छिमेकमा रहेका कर्पोेरेट हाउसहरुबाट पनि लाभ उठाउने संभावना छ। जसले विभिन्न कार्यक्रमहरू आयोजना गर्न व्यावसायिक अवसरहरू सुरक्षित गर्दछ।
होटलको अध्यक्ष बस्नेत रहेका छन्। उनको होटलमा ९९ प्रतिशत भन्दा बढी सेयर रहेको छ।


