काठमाडौँ: सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र चार अन्य व्यक्तिहरूलाई काठमाडौं उपत्यका छाड्न नदिने निर्णयविरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृह सचिव गोकर्णमणि दुवाडी, पूर्वराष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापा र काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई उपत्यका छाड्न रोक लगाएको थियो। उक्त निर्णयपछि अधिवक्ता प्रेमराज सिलवालले उक्त निर्णयले नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको उल्लंघन भएको भन्दै रिट दायर गरेका थिए।
उनले आयोगको उक्न निर्णय आदेश खारेज गरी भविष्यमा कुनै रोक नलगाइदिन परमादेश माग रिटमा गरेका थिए। तर शुक्रबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। तर उपत्यका बाहिर जान नदिने आयोगको निर्णयको लिखित कारण माग गरेको छ। १५ दिनभित्र महान्यायाधीवक्तामार्फत लिखित जवाफ पेस गर्न आदेशमा भनिएको छ।


